एमालेको सदस्यता नवीकरण गर्ने विद्या भण्डारीको सुविधा काट्न कांग्रेस सांसद खतिवडाको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को सदस्यता नवीकरण गरेको हो भने राज्यको सेवा सुविधा छाड्नुपर्ने बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद खतिवडाले भण्डारीलाई एमालेको कार्यकर्ता बनेर राज्यबाट पूर्वराष्ट्रपतिको हैसियतमा सेवा सुविधा लिन नमिल्ने बताए । भण्डारीको नाम उल्लेख नगरेर सांसद खतिवडाले पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको र राज्यको सेवासुविधा लिएको विषयमा सरकारको जवाफ पनि माग गरेका छन् ।

खतिवडाले भने, ‘पूर्वराष्ट्रपतिले कुनै एउटा पार्टीको सदस्यता नवीकरण गरेको समाचार सुन्नमा आयो । पार्टीको सदस्य नवीकरण गरेको हो भने पूर्वराष्ट्रपतिको हैसियतमा सुविधा लिन मिल्छ की मिल्दैन ? राज्यले त्योबारेमा के सोँचेको छ ? सरकारले त्यसको जवाफ देओस् ।’

‘संविधानमा के छ ? त्यो विषयमा सरकारले जवाफ देओस् भनेर म माग गर्नु चाहन्छु’, कांग्रेसका सांसद खतिवडाले भने ।

केही दिन अगाडि पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको समाचार प्रकाशित भएपछि आलोचनाहरू भइरहेको छ ।

एमालेको सदस्यता नवीकरण गरेको हो भने भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा राज्यबाट सेवासुविधा लिन पाइँदैन ।

Published : Wednesday, 2024 June 19, 1:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया