सिमानामा तारबार लगाउने एमालेका बर्तौलाको अभिव्यक्तिको कांग्रेस सांसद चौधरीको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले सत्तारुढ दल एमालेका प्रमुख सचेतक महेश बर्तौलाको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छिन् ।

बिहीबार प्रेस नोट जारी गरेर सांसद चौधरीले नेपाल–भारत सिमानामा तारबार लगाउने सम्बन्धी एमाले सांसद बर्तौलाको अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण भनेकी छिन् । उनले एमालेका प्रमुख सचेतक बर्तौलाले प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकी छिन ।

नेपाल–भारतबीच सिमाना कुल १८८० किलो मिटर रहेको भन्दै चौधरीले नेपालका २७ जिल्ला र भारतका ४ प्रदेशका २० जिल्ला अन्तर्राष्ट्रिय सीमासँग जोडिएका उल्लेख गरेकी छिन् ।

उनले दुई देशतर्फका जिल्लाहरूमा करोडौं मानिसहरूमा बसोबास गरिरहेको बताएकी छिन् ।

‘अधिकांश समय काठमाडौंमा बस्ने माननीयज्यूलाई नेपाल र भारतबीचको भाषिक, पारिवारिक, सामाजिक, जातीय, धार्मिक, सांस्कृतिक र आर्थिक सबै क्षेत्रमा अनोन्याश्रय सम्बन्ध छ भन्ने जानकारी नहुन सक्छ’, उनले भनिन् ।

‘सीमा क्षेत्रमा रहेका परिवारको सीमापारीको परिवारसंग कुनै न कुनै नाताले जोडिएको हुन्छ’, सांसद चौधरीले भनेकी छिन् ।

‘माननीय प्रमुख सचेतक ज्यूले उठाउनु भएको कुराले करोडौं नेपाली तथा भारतीय जनताको मन दुखाउनु भएको छ’, कांग्रेस सांसद चौधरीले भनिन् ।

‘यो मन मात्र दुख्ने कुरा हैन, यो त एकल जातीय राज्य स्थापना गर्न १९४० को दशकमा युरोपमा जे भएको थियो त्यो हो’, उनले भनिन् ।

‘उहाँको अभिव्यक्ति रंगभेदी मात्र हैन यसले माननीय ज्यूको फासीवादी चरित्र देखाएको छ’, कांग्रेस सांसद चौधरीले भनेकी छिन् ।

‘दुई देशका जनताबीच परापूर्वकालदेखि रहेको समान सम्बन्धमाथि यसरी गैर जिम्मेवार पूर्ण अभिव्यक्तिको म मधेशको नागरिकको हैसियतले घोर भर्त्सना गर्दछु’, उनले भनेकी छिन् ।

‘हाम्रो गरिमामय सदनमा सम्माननीय सभामुख ज्यूले जसरी विपक्षी दललाई चाहिने कुरा नै भनेको बेला रुलिङ गर्नु हुन्छ, यस किसिमका गैर जिम्मेवारपूर्ण अभिव्यक्तिलाई निरुत्साहन गर्न पनि केही प्रयास गर्नु हुन्छ होला भन्ने आशा गर्दछु’, कांग्रेसका सांसद चौधरीले भनेकी छिन् ।

एमालेका प्रमुख सचेतक बर्तौलाले नेपाल–भारतबीचको खुला सिमानाका कारण नेपालीलाई फाइदा भइरहेको छभन्ने कुराको जानकारी नहुन सक्छ । एमालेले बेलाबेला सिमाना जोडिएका जिल्लामा बस्ने जनताहरूको भावनामा चोट पुग्ने गरेर अभिव्यक्ति दिँदै आएको छ ।

Published : Thursday, 2024 June 20, 4:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया