विभाग प्रमुख एवं कांग्रेस नेतृ रंगमती शाहीद्वारा सरकारबाट भएको विभेदको विरोध

काठमाडौं । नेपाली कांग्रेसको पिछडिएको क्षेत्र समन्वय विभागकी प्रमुख रंगमती शाहीले पिछडिएको क्षेत्र कर्णालीका जिल्लाहरूमा बजेटमा उपेक्षा भएको भन्दै अपात्ति जनाएकी छिन् ।

बिहीबार प्रमुख शाहीले विज्ञप्ति जारी गरेर आर्थिक वर्ष २०८१/८२ को बजेटमा पिछडिएको क्षेत्रका जिल्लाहरूमा विभेदजन्य रुपबाट विनियोजन भएको बताएकी छिन् ।

उनले भनिन्, ‘समग्र मुलुकको उन्नाईस प्रतिशत भू–भाग समेटिएको कर्णाली प्रदेश लगायत देशको समग्र पिछडिएको क्षेत्रको प्राकृतिक एवं भौगोलिक विकटता तथा यी क्षेत्रका समुदायको शताब्दियौँदेखि विभेदजन्य भोगाई, दुःख, पीडा र सिंहदरवारको दृष्टिबाट सदैव ओझेलमा पर्नुपर्ने र समतामुलक व्यवहारबाट वञ्चित हुनुपर्ने नियति यस आर्थिक वर्ष २०८१/०८२ को वजेट विनियोजनमा पनि पुनरावृत्ति भएको छ ।’

‘यसरी पिछडिएको क्षेत्र र समुदायप्रति वजेट विनियोजनमा संवेदनहीनता र विभेद टड्कारो देखिएकोमा नेपाली कांग्रेस पिछडिएको क्षेत्र समन्वय विभाग नेपाल सरकार लगायत सरोकारवाला सबैमा गम्भीर ध्यानाकर्षण गराउँदछ’, शाहीले भनिन् ।

उनले भनिन्, ‘देशको पिछडिएको क्षेत्रलाई विकासको मूलधारमा समावेश गर्न यथेष्ट वजेट तथा विकास कार्यक्रम संचालनका लागि जोडदार माग गर्दछ ।’

Published : Thursday, 2024 June 20, 4:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया