आन्दोलनरत क्रसर व्यवसायी महासंघद्वारा वार्ता समिति गठन
काठमाडौं । सरकारसँग वार्ता गर्न नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले ७ सदस्यीय वार्ता समिति गठन गरेको छ ।
शनिबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष सीताराम न्यौपानेको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय भएको सह–सचिव मीनबहादुर शाहीले बताए ।
वार्ता समितिको सदस्यहरूमा श्यामराज खड्का, पुरुषोत्तम रेग्मी, यामबहादुर मल्ल, कृष्णगोपाल तामाङ र भरतप्रसाद घिमिरे रहेका छन् ।
असार १ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा व्यवसायीहरूले धर्ना दिँदै आएका छन् । निरन्तर आन्दोलन गर्दै आएका व्यवसायीहरूलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले शुक्रबार पत्र पठाएर पहिलो चरणमा प्रारम्भीक वार्ता गरेका छन् ।
मन्त्री जोशी व्यवसायीहरूको माग सम्बोधन गर्न सकारात्मक देखिएका छन् । मन्त्री जोशीले शुक्रबार आफ्नै कार्यकक्ष सिंहदरबारमा आन्दोलनरत व्यवसायीका साथै कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदमराज जोशी र राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग प्रारम्भीक वार्ता गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया