महेशपुरमा सभापति देउवाद्वारा पृथ्वीराज कंडेल बसपार्कको उद्घाटन

परासी । सत्ता गठबन्धनले सरकारका कामकारबाहीलाई तहसनहस बनाइ जनतालाई समस्या भोग्न बाध्य बनाएका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षको भूमिका सशक्त हुने बताएका छन् ।

शनिबार नवलपरासीको पाल्हिनन्दन गाउँपालिकास्थित महेशपुरमा पृथ्वीराज कंडेलको नाममा रहेको बसपार्कको उद्घाटन गर्दै देउवाले जनताले समस्या भोग्नु परेकाले सरकारलाई कांग्रेस सशक्त प्रतिपक्षको भूमिकामा रहने बताए ।

उनले कांग्रेस प्रतिपक्षमा रहेपनि कांग्रेसकै आलोचना भैरहेको बताए । संसदमा कांग्रेसको भूमिका प्रभावकारी हुन नसकेको र कतिपयले आफ्नोसमेत आलोचना गरिहेकाले जनताका समस्यालाई संसदमा प्रभावकारी ढंगले प्रस्तुत हुने सभापति देउवाले बताए ।

देउवाले भने, ‘अहिले कांग्रेसको मात्रै होइन मेरोसमेत आलोचना भएको छ तर पनि प्रतिपक्षको भूमिका सक्दो रुपमा निर्वाह गरेकै छ, गर्छ पनि ।’

सभापति देउवाले महेशपुर भन्सार पूर्ण क्षमतामा संचालनमा आउन नसकेको भन्दै यसका लागि समेत छलफल गर्ने बताएका छन् ।

उनले भैरहवा विमानस्थल पुग्ने बाटो स्तरीकरणका लागि पहल गर्ने पनि बताएका छन् ।

पूर्व गृहराज्यमन्त्री एवम् कांग्रेसका केन्द्रीय सदस्य देवेन्दराज कंडेलका पिता पृथ्वीराज कंडेलको स्मृतिमा बसपार्कको नामाकरण गरिएको छ ।

बसपार्कमा अर्धकदको शालिक पनि निर्माण गरिएको छ । स्व.पृथ्वीराज कंडेल २०१५ सालमा पाल्हिमाझ खण्ड पूर्वी निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन् ।

सभापति देउवाले देवेन्द्रराज कंडेलका पिता स्वर्गीय पृथ्वीराज कंडेलको अर्धकदको शालिकसमेत अनावरण गरेका छन् ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद विनोद चौधरी, लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ कलवार लगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो ।

Published : Sunday, 2024 June 23, 8:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया