स्नेहा-सुमित्राको समूहले मध्यराति भैँसी झारे, नारायणकाजीको नाम लिएर जागिर खाइदिने धम्की

काठमाडौं । पशु अधिकारीको क्षेत्रमा काम गर्दै आएको दाबी गर्ने ललितपुरमा कार्यालय रहेका ‘स्नेहा केयर’ र ‘एनिमल नेपाल’ नामक दुई संस्थाका व्यक्तिहरूले दलबलसहित ट्रकबाट भैँसीहरू सडकमा झारेर बबाल गरेका छन् ।

शुक्रबार राति करीव ११/१२ बजेतिर प्रहरी र पशु क्वारेन्टिन कार्यालय लगायत सरोकारवाला निकायलाई पूर्व जानकारी नदिएर जथाभावी ढङ्गले भैँसी ट्रकबाट झारेर बबाल गरेको अभियोग लागेको छ ।

काठमाडौंको नागढुङ्गा नजिकै झ्प्लेखोला–पिप्लेमोड क्षेत्रमा स्नेहा श्रेष्ठ, सुमित्रा लुइँटे, गणेश श्रेष्ठलसहित करीव ९ जनाको संख्यामा रहेका व्यक्तिहरूले भैँसीहरूलाई मध्यराति ट्रकबाट बीच सडकमा झारेर बबाल गरेपछि व्यवसायीहरू तनाबमा परेको पीडितहरूले गुनासो गरेका छन् । स्नेहा श्रेष्ठ, सुमित्रा लुइँटेल, गणेश श्रेष्ठको समूहले थर्काएपछि व्यवसायीहरू र ट्रकका मजदुरहरू डराएर प्रतिक्रिया समेत दिन मानेका छैनन् ।

नागढुङ्गाको प्रहरी र पशु क्वारेन्टिनका कर्मचारीहरू पनि यो समूहसँग डराएर प्रतिक्रिया दिन मानेका छैनन् । प्रतिक्रिया लिन सम्पर्क गर्दा ‘एनजीओका मान्छेहरू हुन्, हाम्रो जागिर खाइदिन सक्छन् समाचारमा नाम नलेखिदिनु होला’ भनेका छन् । उनीहरू यो विषयमा बोल्नै चाहँदैनन् । उनीहरूले आवश्यक पर्दा सम्बन्धित निकायमा जानकारी गराउने बताएका छन् ।

पशु चिकित्सले दिएको प्रमाणपत्रसहित कैलालीबाट काठमाडौंका लागि ना ६ ख ४९९६ नम्बरको ट्रक १९ वटा भैँसीसहित आएको थियो । ती भैँसीहरूको स्वास्थ्य ठीक छ भनेर चेकजाँचको सर्टिफिकेट कैलालीका पशु चिकित्सक डा.बसन्तबहादुर सिंहले दिएका छन् ।

ती भैँसीहरूको स्वास्थ्य लगायतका सबै परीक्षण गरिएको प्रमाणपत्र हुँदाहुँदै स्नेहा श्रेष्ठ, समित्रा लुइँटेलहरूको समूहले भैँसीलाई ट्रकबाट झारेर सडकमा अलपत्र पारेर हिँडेपछि राज्य कति कमजोर अवस्था छभन्ने कुरा प्रष्ट भएको छ । नाम चलेको एउटा अनलाइनमा काम गर्ने पत्रकार पनि स्नेहा श्रेष्ठ, सुमित्रा लुइँटेल, गणेश श्रेष्ठको समूहसँगै मध्यराति भैँसी झार्न सडकमा पुगेको भिडियोमा देख्न सकिन्छ ।

स्नेहा श्रेष्ठले रिपब्लिका दैनिकसँग प्रतिक्रिया दिँदै आफूहरू पशु अधिकारको क्षेत्रमा काम गर्ने भएको र शुक्रबार राति करीव ११ बजे ट्रकमा हेरेर निकै कठिन अवस्थामा रहेका भैँसीलाई झारिएको बताइन् । उनले ट्रकमा रहेका भैँसीको अवस्था निकै नाजुक रहेको भिडियो, तस्बिरलगायतको पूर्वजानकारी आएपछि ट्रकलाई रोकेर भैँसी झारिएको बताइन् । तपाईहरू अनुगमनमा जानुभन्दा पहिला प्रहरी, प्रशासन, पशु क्वारिन्टिन वा सरोकारवाला निकायलाई पूर्व जानकारी दिनुभएको थियो भन्ने जिज्ञासामा स्नेहा श्रेष्ठले त्यस्तो जानकारी नदिएको बताइन् । उनले आफू स्टेरिङ कमिटीको सदस्य पनि रहेको बताएकी छिन् ।

स्नेहा श्रेष्ठ, सुमित्रा लुइँटेलको समूहले पशुको अधिकारको लागि जाने हो भने सुरक्षा निकाय, पशु कार्यालय वा सम्बन्धित निकायमा पूर्व जानकारी दिनुपर्ने हुन्छ । पूर्व जानकारी नै नदिएर केही पत्रकार र सुण्डमुड बोकेर गुण्डाशैलीमा बीच सडकमा ट्रकलाई रोकेर भैँसीहरू सडकमा झारेर गाडीका चालक, सह–चालक, मजदुर, व्यापारीलाई धम्काएर हिँड्नु उचित होइन भनेर टिकाटिप्पणी भएका छन् ।

ट्रकमा भैँसीहरूलाई निकै कठिन अवस्था र मापदण्डअनुसार राखिएको थिएन भने स्नेहा श्रेष्ठ, सुमित्रा लइँटेलको समूहले ट्रकसहित सबैलाई सम्बन्धित निकायमा बुझाएर कानूनअनुसार कारबाहीको प्रक्रियामा जानुपर्ने थियो । तर, उनीहरूले त्यो कार्य नगरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

भैँसीलाई ट्रकबाट झारेपछि प्रहरीसँग समेत केही समय स्नेहा श्रेष्ठ, सुमित्रा लुइँटेल लगायतको समूहको ठूलो वादविवाद भएको छ । वादविवाद हुँदाको भिडियोमा स्नेहा श्रेष्ठ, सुमित्रा लुइँटेलको समूहले ‘हामी नारायणकाजीका मान्छे हौँ, तेरो जागिर खाइदिन्छौँ’ भनेर प्रहरीलाई धम्की समेत दिएका छन् ।

एनजीओका मानिसहरूले मध्यराति गैह्रकानूनी कार्य गर्ने, त्यसमा पनि उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको नाम लिएर प्रहरीको जागिर खाइदिन्छु भनेर धम्की दिने कार्य, कमसेकम रवि लामिछाने गृहमन्त्री भएका बेला सुहाउँदैन ।

एनजीओले खाजाको व्यवस्था गर्दा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट उठेर हिँडेका गृहमन्त्री लामिछानेलाई नागढुङ्गामा एनजीओकर्मी स्नेहा श्रेष्ठ, सुमित्रा लुइँटेलको समूहले गरेको कार्य स्वीकार्य हुन्छ वा हुँदैन भविष्यले देखाउनेछ । (भैँसीको फाइल तस्बिर)

Published : Sunday, 2024 June 23, 9:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया