सभापति डा.राणाद्वारा छाउगोठ कुरीतिविरुद्ध विद्यालयबाटै जनचेतना अभियान चलाउन माग

काठमाडौं । नेपाली कांग्रेसकी सांसद एवम् कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणा देउवाले अछाम जिल्लामा छाउगोठमा बसेकी किशोरी बलात्कार भएको घटनाप्रति भर्त्सना गरेकी छिन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद डा.राणाले छाउगोठ जस्तो कुरीतिविरुद्ध स्कुलबाटै जनचेतना फैलाउन अनुरोध गरेकी छिन् ।

उनले भनिन्, ‘सभामुख महोदय, आजभन्दा करीव ८ वर्ष अगाडि पनि मैले यहिँ उभिएर एकजना छाउपडी गोठमा सर्पले टोकेर मरेको छोरीको बारेमा बोलेको थिएँ ।’

सांसद डा.राणाले भनिन्, ‘आज पनि अछाममा असार ३ गते एकजना छोरीलाई बलात्कार गरियो । यस्तो घटनाहरू घट्ने क्रम अझै पनि हाम्रो देशमा २१औँ शताब्दीमा पनि चलिरहेको छ ।’

उनले भनिन्, ‘सरकारले ०७५देखि ०७८ को बीचमा ७ हजार ५ सय ४५ वटा छाउगोठहरू भत्काए पनि यो कुरीति अझै पनि चलिरहेको छ ।’

‘त्यस कारण नेपाल सरकारलाई यसविरुद्धमा एउटा व्यापक क्याम्पेन खाली गोठ भत्काउने मात्र होइन, एउटा प्रचार प्रसारको क्याम्पेन जनचेतना जागरण गराउने क्याम्पेन स्कुलदेखि नै म्यचुरेशनको बारेमा सिकाउने क्याम्पेन चलाउन म अनुरोध गर्न चाहन्छु’, सांसद डा.राणाले भनिन् ।

सभापति डा.राणाले संसद सचिवालयका कर्मचारीहरूको आन्दोलनलाई सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छिन् । उनले कर्मचारीहरूको माग सम्बोधन गर्न आग्रह गरिन् ।

‘हाम्रो गरिमामय सदनमा कर्मचारीहरू बाध्य भएर आवाज उठाइरहेका छन्’, उनले भनिन्, ‘त्यो आवाजलाई पनि सरकारले एक्दम चाँडै रेस्पोन्स गर्न अनुरोध गर्न चाहन्छु ।’

असार ३ गते अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा एक किशोरी छाउगोठमा बलात्कृत भएकी थिइन् । मामाघरमा बसेर पढिरहेकी १६ वर्षीया किशोरी सोमबार मध्यराति मामा नाता पर्नेबाट बलात्कृत भएकी थिइन् ।

प्रहरीले आरोपित १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । किशोरीलाई राति २ बजे पिसाब फेर्न छाउगोठ बाहिर निस्केका बेला मामा नाता पर्नेले बलात्कार गरेका थिए । बलात्कारपछि किशोरी बेहोस भएर अस्पताल लगिएको थियो । होस आएपछि उनीमाथि बलात्कार भएको खुलेको थियो ।

Published : Sunday, 2024 June 23, 1:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया