सेलिब्रेटी, नेताहरूले बलत्कार गर्दैन भन्ने भाष्य बनाउन खोजियो : जीतजंग बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका सांसद जीतजङ्ग बस्नेतले बलत्कारबारे एउटा भाष्य निर्माण गर्न खोजिएको भन्दै जो भए पनि कारबाही हुनुपर्ने बताएका छन् ।

आइतबार बसेको राष्ट्रियसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद बस्नेतले सेलिब्रेटी, नेता लगायतका ठूला व्यक्तिले बलत्कार गर्दैन भनेर भाष्य निर्माण गर्न खोजिएको बताए ।

उनले भने, ‘बलत्कारलाई एउटा भाष्य बनाउन खोजियो ।’

‘सेलिब्रेटीले बलत्कार गर्दैन, नेताले बलत्कार गर्दैन, प्रहरी, सेनाले बलत्कार गर्दैन । बलत्कार गर्ने त त्यहि गरिब जनता हो । बलत्कार भनेको मानसिकता हो । त्यो मानसिकताले बलत्कार गर्ने हो । बलत्कारीलाई कहिँ पनि छोडिनु हुँदैन । त्यो सेलिब्रेटी किन नहोस्, त्यो नेता किन नहोस्, त्यो नेताको छोरा किन नहोस् । जो हास् बलत्कारीलाई कारबाही हुनुपर्छ । एउटा भाष्य बनाउन खोजियो । यो भाष्यलाई चिर्न जरुरी छ’, सांसद बस्नेतले भने ।

उनले संसदको बैठकमा रक्सी खाएर आउने सांसदलाई ६ महिनासम्म कारबाही गर्नुपर्ने माग गरेका छन् ।

उनले भने, ‘प्रतिनिधिसभामा एकजना महिला माननीय सदस्यले पुरुष माननीयहरू रक्सी खाएर आउनु हुन्छ भन्नुभयो । यसमा म के भन्न चाहन्छु भने पुरुष माननीय, कोही पनि माननीय पनि संसदमै रक्सी खाएर आउने, संसदको अनुशासनको कुरा गर्ने अनि आफै नै अनुशासनहीन हुने कार्य नहोस् । त्यस्तो कार्य भएको छभने कारबाही हुनुपर्छ भन्ने, छ महिनाको निलम्बन हुनुपर्छ भन्ने मेरो सुझाव पनि छ ।’

सांसद बस्नेतले वृद्ध भत्ताका लागि राष्ट्रिय परिचय पत्रको व्यवस्था खारेज गर्न माग गरेका छन् ।

उनले नागरिकता रहेको छभने परिचयपत्र किन चाहियो भनेर परिचयपत्रको व्यवस्था हटाउन माग गरे ।

सांसद बस्नेतले महानगरपालिकाभित्र मेयर र वडाध्यक्षहरूबीच विवाद भइरहेको भन्दै मिलेर काम गर्न सुझाव दिए । उनले महानगरभित्र ठेलाको संस्कृतिलाई बचाउनु पर्ने बताए । बरु ठेलालाई व्यवस्थित कसरी गराउने त्यसबारेमा ध्यान दिनुपर्ने उनले बताएका छन् ।

सांसद बस्नेतले ट्राफिक प्रहरीले कुनामा बसेर चेकिङ गर्ने गरेको भन्दै विरोध जनाएका छन् । उनले भने, ‘कुनामा बसेर चेकिङ गर्ने होइन । अगाडि बसेर तपाई जाँदै छभने भन्नु प¥यो नी । तपाईले गल्ती गर्दै हुनुहुन्छ भने यो ठाउँबाट जानुस् । कुनामा बसेर ठ्याक्क समात्ने । यो भत्ता मात्रै लिने हो कि ?’

समाज भ्रष्टीकरणमा जान लागेको बताउँदै सांसद बस्नेतले समाजको मूल्य र मान्यता सिद्धाउन लागेको बताए । उनले एउटा गरिब बाँच्न नसक्ने अवस्था आएको बताए ।

Published : Sunday, 2024 June 23, 3:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया