नौ लाखकाे प्रमाण फेला, उपसभामुखको पत्र प्रकरणका बारेमा मेरो भनाइ
मुकुल ढकाल, नेता, राष्ट्रिय स्वतन्त्र पार्टी
वैशाख ४, २०८१ मा पार्टीका संगठन विभाग सचिव शङ्कर श्रेष्ठले उपसभामुखले लेखेको पत्र मलाई वाट्सएप गर्नुहुन्छ । साथै, उहाँले पार्टीका एक जना पालिका सभापतिसँग आफूँले गरेको टेलिफोन संवादको रेकर्ड पनि पठाउनु हुन्छ । टेलिफोन संवादअनुसार पालिका सभापतिकहाँ पत्रमा उल्लेख गरिएकी एकजना महिला, आफूलाई पीडित भन्दै उहाँसँग सम्पर्कमा आउनु हुन्छ । पीडितका अनुसार १ वर्ष अगाडि उपसभामुख सचिवालयले अमेरिका पठाइदिने भन्दै उहाँसँग पैसा लिएको थियो । र, अमेरिका भिसा नलागेपछि कहिले बेलायत त कहिले अर्को कुनै देश पठाइदिने भन्दै उपसभामुख सचिवालयले अलमलाएका कारण आफ्नो पैसा फिर्ता गराइदिन भन्दै पार्टीको सम्पर्कमा आएकी थिइन् ।
घटनाको खबर प्राप्त गर्ने बित्तिकै मैले घटनाको बारेमा पार्टी सभापति रवि लामिछाने, पार्टी उपसभापति डा.स्वर्णिम वाग्ले र पार्टी सहकोषाध्यक्ष एवं गृहमन्त्रालयमा गृहमन्त्रीको सचिवालय संयोजकका रूपमा काम गरिरहेका दीपक बोहोरासम्म कुरा पुर्याए । र, गृह मन्त्रालयबाट उल्लेखित ५ जना विदेश उडेको नउडेको अध्यागमनबाट हेर्न आग्रह गरे । भोलिपल्ट राम नवमी परेकाले पर्सीपल्ट कोहि पनि विदेश नउडेको खबर प्राप्त गरेँ । घटनाका बारेमा सिधै उपसभामुखबाट बुझ्नपर्छ भन्ठानी, मैले उपसभामुखसँग सम्पर्क गरेँ र उहाँले शुरूमा पत्रका बारेमा जानकार नरहेको बताउनु भयो । तर, अलिकति केरकार गरेपछि उहाँले उपेन्द्र भन्ने भाइ पार्टीकै मान्छे भएको, उसलाई मात्र चिनेको, अरूलाई नचिनेको बताउनुभयो । र, उपेन्द्रले भनेअनुसार पत्रमा हस्ताक्षर गरेको बताउनु भयो । ‘नचिनेको मान्छे भन्न पाइन्छ ?’, ‘त्यसरी हस्ताक्षर गर्न मिल्छ ?’ भनेर उपसभामुखलाई मैले प्रश्न गरेँ र उहाँले ‘थाहा भएन’ भन्ने सामान्य उत्तर दिनु भयो । ‘थाहा छैन भन्न पाइन्छ ?’ भनेर मैले प्रश्न गरिरहे, तर उहाँले ‘थाहा छैन’को रटान लगाइरहनु भयो । त्यसपछि, अब आइन्दा त्यसरी कसैको हस्ताक्षर नगर्नु र ती ५ जना पार्टी कार्यलयमा यथासक्य छिटो उपस्थित गराउनु भनेर पार्टी महामन्त्रीको रूपमा निर्देशन दिए । त्यतिबेला उहाँले महेश पाण्डे भन्ने व्यक्तिलाई ती को हुन् भन्ने थाहा छ र उहाँलाई सम्पर्क गर्न बताउनु भयो । तर, मैले अन्य व्यक्तिसँग सम्पर्क नगर्ने र तपाईंले नै ती व्यक्ति पार्टी कार्यलयमा उपस्थित गराउनु भने ।
उपसभामुखको मात्र होइन, ‘थाहा छैन’ भन्ने रोग पार्टीमा संक्रमण रोग जसरी फैलिएको छ जुन कुरा मैले समीक्षा प्रतिवेदनमा पनि उल्लेख गरेको छु । भविष्यमा, यस्ता ‘थाहा छैन’ प्रकरण थप खुल्दै जाने नै छन् किन भने , सत्यलाई केहि दिन लुकाउन सकिएला, सँधै लुकाउन सकिन्न । ‘थाहा छैन’ भन्ने जवाफले पार्टी महामन्त्रीको रूपमा मलाई पारेको दवावकै कारण मैले समीक्षा यात्रा पनि ‘थाहा अभियान’का अभियान्ता रूपचन्द्र विष्ट ‘रूदाने’को गाउँ ‘थाहा नगरपालिका’बाट शुरू गरे ।
उपसभामुखलाई त्यसरी ती ५ जना उपस्थित गराउने निर्देशन दिएपछि, इलामको उपचुनाव आयो । चुनावको नतिजापछि पार्टी सचिवालय बैठक बस्यो र बैठकले मलाई समीक्षा यात्रामा पठाउने निर्णय गर्याे । त्यसपछिका घटनाक्रम आम जनतामाझ आइसकेको छ । उपसभामुखको पत्र र मानव तस्करी जस्तो जघन्य अपराध जोडिएको यो विषयमा पार्टीका सीमित व्यक्तिको जानकारीमा मैले अनुसन्धान गरिरहेको थिएँ । तर, समयचक्रमा घटनाक्रम यसरी विकसित भएकी अनुसन्धानभन्दा के कति विषयमा म ओझेलमा परेँ, सम्भवत सबैको जानकारीमा आएकै विषय हो । महिना दिन बित्दा पनि उपसभामुखले ती ५ जना दिइएको निर्देशनअनुसार पार्टी कार्यलयमा उपस्थित गराउनु भएन र उपस्थित नगराएका कारण थप कदम चाल्नु पर्ने हुन्थ्यो , जुन अवस्थामा म रहिन र जानकारमध्ये अन्य कसैले चासो दिएन ।
उपसभामुखलाई सोधखोजपछि पनि म पीडितको सम्पर्कमा आफैँ पुग्न चाहेँ तर, सम्पर्कमा आएको पीडितले ती पालिका सभापतिलाई ‘तपाईंले कुरा कता कता पुर्याउनु भयो, मेरो पैसा फिर्ता आयो’ बताइन् । ९ लाख रूपियाँ उपसभामुख सचिवालयले लिएको रहेछ । र, त्यसलाई फिर्ता गरेपछि पीडितले बयान दिन र थप सम्पर्कमा आउन इन्कार गरिन् । पीडितका अनुसार ९ लाख फिर्ता भएको बैङ्क स्टेटमेन्ट अझै पनि पीडितसँग सुरक्षित छ ।
हालसालै घटना सार्वजनिक भएपछि, रवि लामिछाने क्लवले मिथ्या र भ्रम छर्न पार्टीको लेटरहेड दुरूपोयग गर्यो । लेटरहेडमा आर्थिक लेनदेन नभएको भनेर किटान गरी विज्ञप्ति जारी गर्नु अघि, तत्कालीन अवस्थामा अनुसन्धानको नेतृत्व गरिरहेका कारणले पनि मलाई के भएको हो भनेर सोधखोज गरिनुपर्थ्यो तर मलाई रवि लामिछाने क्लवले सामान्य सोधपुछ समेत गरेन । यसको मतलव क्लव विषयको गाम्भिर्यतालाई सिधै नजरअन्दाज गरी पार्टीमा बेथितिको संरक्षणमा खडा भयो ।
उपसभामुखको विषय पार्टी मात्रको विषय नभएकाले देशकै प्रतिष्ठासँग जोडिएको राज्यको उपल्लो तहको विषय भएकाले यसमा छानविन हुनपर्छ । मलाई प्राप्त सूचना र प्राप्त प्रमाणका आधारमा, म यति भन्न सक्छु, आर्थिक लेनदेन भएको कुरालाई इन्कार गर्न सकिन्न । अझै पनि, ती ५ जनालाई खोजी गरि तीनिहरू महिला अधिकारका क्षेत्रमा राजनीतिक, सामाजिक, कानूनी वा कुनै पनि आधारमा विगतमा महिला अधिकारका क्षेत्रमा काम गरेका व्यक्ति हुन् वा होइनन्, सजिलैसँग पत्ता लाग्ने विषय हो । यहाँ गाह्रो भनेको, ती ५ जना खोज्नु हो । राज्यले अनुसन्धान गर्ने हो भने, ती ५ जनाकै वतन पत्ता लगाउनु ठूलो विषय होइन । राज्यले यस विषयमा अनुसन्धान गरोस् र अनुसन्धानका क्रममा राज्यका कुनै पनि निकायले के भएको थियो भनेर सोध्न मलाई अनुसन्धानमा बोलाए, मसँग रहेका प्रमाण बुझाउन तयार छु, मलाई थाहा भएका सबै कुरा बताउन तयार छु ।
उपसभामुख ईन्दिरा आमाको विगतको छवि सबै नेपालीले शिर निहुराएर नमन गर्नै पर्छ । यसो भन्दै गर्दा, हामीले यो पनि बिर्सन हुन्न कि, हामी त्यो समाजमा बस्छौँ, जुन समाजमा कुनै दिन माता सीताले पनि सहजै अग्नि परीक्षा दिन तयार हुनु भएको थियो । विगतको छवि उच्च रहे पनि छानविनका लागि तयार हुन नपर्ने केहि कारण नै छैन । उपसभामुखले तत्काल पदबाट राजीनामा दिइ, आफूँमाथि छानविनका लागि स्वयं तयार हुनपर्छ । छानविनका लागि तयार भएर नैतिकताको खडेरी देखिएको नेपाली राजनीतिमा नैतिकताको उदाहरण पेश गर्न सक्नुपर्छ । छानविनले उहाँ दोषी हो, होइन वा उहाँको सचिवालयले उहाँको जानकारी बिना यसरी मानव तस्करीमा लागेको हो की ? सबै पत्ता लागि हाल्छ । तर, आफ्नो विगतको प्रतिष्ठाका खातिर, र आगामी दिनमा पनि नेपाली राजनीतिलाई नैतिकताको पाठ सिकाउन भए पनि आफूमाथि आफैँ छानविनको माग गर्दै राजीनामा दिनपर्छ । यसै पनि, त्यो पदमा बसेर जनताको जीवनसँग जोडिने गरि के नै काम गर्न सकिन्छ र ? वा गरिएको छ र ? त्यो पदले गर्न सक्ने भनेको नेपालीको इज्जत, प्रतिष्ठा र मर्यादालाई उचो बनाउनु हो, जुन राजीनामा दिएर गर्न सकिन्छ, न की पदमा बसेर ।
फेसबुकबाट तपाईको प्रतिक्रिया