पूर्वराज्य मन्त्रीको हत्या गर्ने दुई जना पक्राउ
मलंगवा । पूर्व भूमिसुधार राज्यमन्त्री वर्ष ८१ का रामचन्द्र राय यादवको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
सोमबार जिल्ला प्रहरी कार्यालय सर्लाहीले पत्रकार सम्मेलन गरेर रायको हत्याको अभियोगमा दुई जनालाई पक्राउ गरेको जनाएको हो ।
राप्रपाका नेता समेत रहेका राय आफ्नै घर (फार्म हाउस)को सुत्ने कोठामा धारिलो हतियार प्रहारबाट मृत अवस्थामा फेला परेका थिए ।
हत्याको सूचना पाउनेवित्तिकै ईलाका प्रहरी कार्यालय केशरगंजबाट प्रहरी निरीक्षक र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी उपरीक्षकको नेतृत्वमा टोली खटिई गई अनुसन्धान सुरु गरेको थियो ।
घटनास्थलको प्रकृति हेर्दा सुक्ष्म अनुसन्धान आवश्यक देखिएकोले थप अनुसन्धानको लागि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट डीआइजी समेतको टोली घटनास्थलमा आइ विस्तृत अनुसन्धान भएको थियो ।
वारदातको गहन अनुसन्धानको लागि केन्द्रीय अनुसन्धान व्यूरो समेतको टोली खटिएको थियो ।
पक्राउ परेका व्यक्तिहरूलाई सर्लाही जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा दिन १० (दश) को म्याद लिई थप अनुसन्धान कार्य भइरहेको छ ।
हत्याको अभियोगमा पक्राउ पर्नेमा राम उजैन राय रहेका छन् । वर्ष २५ का राम उजैन राय सर्लाहीको कबिलासी नगरपालिका वडा नं. ३ मा घर रहेको छ । उनी हाल सर्लाहीकै चन्द्रनगर गाउँपालिका वडा नं. १ रतनपुरमा बस्दै आएका थिए ।
४६ वर्षीय वीरेन्द्र रायलाई पनि प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. १ रतनपुरमा घर भएका वीरेन्द्रलाई सर्लाहीकै चन्द्रपुर गाउँपालिका वडा नं. १ रतनपुरस्थित पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र राय यादवकै घरबाट पक्राउ गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया