यत्रो ठूलो संसदलाई हामी घटाऔँ, प्रदेशको सरकारलाई यसै गरी राख्ने सकिदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले संसदको अहिलेको संख्या राखेर देश चलाउन नसकिने बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै कांग्रेसका महामन्त्री समेत रहेका सांसद थापाले संसदको संख्या घटाउनु पर्ने बताए । उनले प्रदेश सरकारलाई पनि यसै गरी राख्न नसकिने बताए ।

उनले भने, ‘यत्रो ठूलो संसदलाई हामी घटाऔँ । आकार घटाऔँ । तर, योभन्दा बढि समानुपातिक र समावेशी बनाऔँ भनेर छलफल गर्न सकिदैन ?’

‘हामीले प्रदेशको सरकारलाई यसै गरी राख्ने हो ? यसै गरी प्रदेश चलाउने हो ?’, थापाले प्रश्न गर्दै भने, ‘हामीले संघीयतालाई योभन्दा थप सुदृढ र प्रभावकारी बनाउने की नबनाउने ? बनाउन मिल्छ की मिल्दैन ? बनाउन मिल्छ ।’

उनले भने, ‘संघीयता योभन्दा राम्रो बनाउने हो । गणतन्त्र योभन्दा राम्रो बनाउने हो । समावेशी, समानुपातिक योभन्दा धेरै बढाउने हो ।’

सांसद थापाले भने, ‘निर्वाचन प्रणालीका बारेमा छलफल गर्छौं । कसै कसैले त्यसै हामीले भनिदिन्छौँ । तलको हाउसलाई हामी प्रत्यक्ष निर्वाचित गर्ने । अपर हाउसलाई कहिँले काहिँ भनिदिन्छौँ । यसलाई हामी समानुपातिक बनाउने । त्यो मिल्छ मिल्दैन । त्यो कसैले चाहेर हुन्छ हुँदैन ।’

‘हामीले तलकै हाउसलाई योभन्दा समावेशी बनाउन सक्छौँ । तर, के पनि गर्न सक्छौँ भने एउटा दलले ४० प्रतिशत मत ल्याउँदै गर्दा ५ वर्ष हाराहारी सरकार चलाउने गरिकन निर्वाचन प्रणाली मिलाउन पनि सक्छौँ’, सांसद थापाले भने ।

‘चलाउन पनि सक्छौँ । त्यसो भन्दै गर्दा के भनेको पनि सुन्छौँ भने ए ठूला ठूला दलले ठूला कुरा गर्ने ? यो ठूलो दल । सानो दलको परिभाषा के हो ?’, थापाले प्रश्न गर्दै भने, ‘०६४/६५ मा माओवादी सबैभन्दा ठूलो दल होइन ? अनि राष्ट्रिय स्वतन्त्र पार्टीको त दाबी नै छ त ०८४ मा हामी सबैभन्दा ठूलो दल हुन्छौँ । कांग्रेस, एमाले बढार्छौं । बढारे हुन्छ । कांग्रेस, एमालेलाई भुइँतिर राखिदिने । मजाले चलाउने ।’

उनले भने, ‘जसले जित्छ त्यसले चलाउने । अनि जसले जित्छ त्यसले चलाउने भन्दाखेरी समावेशी, समानुपातिक योभन्दा अझै बेशी बढाएर हामीले मन्त्रिपरिषददेखि सबैतिर अनिर्वाय समावेशी, समानुपातिक व्यवस्था गरेर बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहु सांस्कृतिक नेपालका यथार्थता छ । त्यसलाई प्रतिविम्बित हुने राष्ट्रका निम्ति जुन संवैधानिक प्रबन्ध हामीले बनाएका छौँ त्यसलाई चलाएर होइन । त्यसलाई, त्यसलाई हटाएर होइन, त्यसलाई अझ मजबुद बनाएर हाम्रा जटिलताहरूको सम्बोधन गर्न सक्छौँ ।’

थापाले भने, ‘यो संसदमा पटक पटक उभिएर के भनेको सुनेको छु भने, यहाँ दलित आउनुभएको छ, यहाँ मधेशी आउनुभएको छ, थारु आउनुभएको छ, महिला आउनुभएको छ, यहाँबाट निकाल्न खोजिदै छ । कसैले निकाल्न सक्छ ? यो अधिकार हो । कसैले दिएको हो ? हामी सबै मिलेर स्थापित गरेको हो । कसैले सक्दैन । कसैले घटाउन सक्दैन । कसैले हटाउन सक्दैन ।’

‘तर, सभामुख महोदय थप्न चाहिँ मिल्छ की मिल्दैन ? जति भएको छ पुगेको छ ? हामीले संसदमा लिएर आउँछौँ’, महामन्त्री थापाले भने, ‘मन्त्री बनाउने बेलामा संविधानमा नेलेखेको भएको हुनाले महिला छुटाइ हाल्छौँ । हामी जुनसुकै पार्टीको होस् । हामी दलित छुटाइ हाल्छौँ । योभन्दा अगाडि पुष्पकमल दाहाल ‘प्रचण्ड’ लामो यहाँबाट गर्जिएर भन्नुभयो । तर, उहाँकै मन्त्रिमण्डलमा हामीले दलित छुटायौँ ।’

‘हामी यतिसम्म गर्छौ की दुइटा पार्टी मिलेर गठबन्धन गर्दैगर्दा राष्ट्रपति र उपराष्ट्रपति पनि दुबै पुरुष बनाइदिन्छौँ’, उनले भने, ‘गाउँपालिकाको अध्यक्ष मौका मिल्नासाथ पुरुष बनाइदिन्छौँ ।’

Published : Tuesday, 2024 August 13, 3:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया