हवाई क्षेत्र सुरक्षित बनाउन मन्त्रीले कदम उठाएपछि महानिर्देशक अधिकारीलाई ठूलो तनाब

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको नेतृत्व क्षमतामा प्रश्न उठेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुधारका कार्यक्रमहरू अगाडि बढाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले कुनै लोभलालच नगरेर हवाई सुरक्षाका लागि सुधारका प्रयासहरू शुरु गरेका छन् । मन्त्री पाण्डेले सुधारका प्रयासहरू शुरु गरेपछि सबैभन्दा टाउको दुखाइ र तनाब प्राधिकरणका महानिर्देशक अधिकारीलाई भएको छ ।

विभिन्न समिति र ईयूको सुझावअनुसार मन्त्री पाण्डेले प्राधिकरणलाई विभाजन गरेर सेवा प्रदायक र नियामक निकाय बनाउन लागेका छन् । सेवा प्रदायक र नियामक निकाय बन्ने वित्तिकै हवाई क्षेत्रमा सुरक्षामा उल्लेख्य सुधार हुने जानकारहरूको भनाइ छ । महानिर्देशक अधिकारीले प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकाय बन्न दिएका थिएनन् ।

मन्त्री पाण्डेले प्राधिकरणलाई विभाजन गरेर सेवा प्रदायक र नियामक निकाय बनाउने फाइल अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाइसकेका छन् । मन्त्री पाण्डेले हवाई क्षेत्रमा देखिएको बेथितिको अन्त्यका लागि गरेको प्रयासको सबैले प्रशंसा गरेका छन् ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई प्रभावमा पारेर महानिर्देशकमा नियुक्ति पाएका अधिकारीले हवाई सुरक्षामा ध्यान नदिएको आरोप छ । अधिकारीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन गर्न नसकेको आरोप छ ।

तत्कालीन समयमा अधिकारी नै पोखरा र भैरहवा विमानस्थलको आयोजना प्रमुख थिए । आयोजना प्रमुख भएका बेला जिम्मेवारीअनुसार काम नगरेको आरोप लाग्दै आएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अनियमितता र घोटा भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइलहरू कब्जा गरेर महानिर्देशक अधिकारीसँग बयान समेत लिएको छ । सार्वजनिक लेखा समितिले पनि उपसमिति बनाएर छानविन गरिरहेको छ ।

महानिर्देशक अधिकारीले हवाई सुरक्षालाई भन्दा पनि भवन निर्माण र अन्य प्राविधिक संरचना मात्रै बनाउनतिर आफूलाई केन्द्रित बनाएका छन् । केही समय अगाडि भक्तपुरको नलिनचोकमा बनाएको हेलिपोर्टमा पनि विभिन्न त्रुटि रहेको भन्दै विवादमा आइसकेको छ ।

महानिर्देशक अधिकारीले नेतृत्व सम्हालेपछि हवाई क्षेत्रमा ठूला ठूला दुर्घटना भइसकेका छन् । ती दुर्घटनाको जिम्मेवारी लिएर महानिर्देशक अधिकारीले पदबाट राजीनामा दिएका छैनन् । अधिकारीलाई निलम्बन गरेर हवाई दुर्घटनाको छानविन समेत हुन सकेका छैनन् । निकै शक्तिशाली बनेर प्राधिकरणको महानिर्देशक पदमा बसेका अधिकारीबाट प्रधानमन्त्री केपी ओली नै आजित बनेका छन् । ओलीले महानिर्देशक अधिकारीलाई निगरानीमा राखेका छन् । प्रधानमन्त्री ओलीले पनि हवाई क्षेत्र सुरक्षित र राम्रो बनाउन पहल गरेका छन् ।

उता, महानिर्देशकको सम्पत्तिमाथि छानविनको माग पनि उठेको छ । अधिकारीविरुद्ध अख्तियारमा उजुरीका चाङ छन् । अधिकारीविरुद्ध अख्तियारले पनि अनुसन्धान र छानविन गरिरहेको छ ।

Published : Friday, 2024 August 16, 10:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया