कमला नदीको भासिएको पुल र युवाहरूको आमरण अनशन अन्त्य गर्न सांसद यादवको आग्रह

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का सांसद राजकिशोर यादवले सिरहा र धनुषा जिल्लाको बीचमा रहेको कमला नदीमा बन्न लागेको पुल भासिएको भन्दै चिन्ता जनाएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद यादवले कमला नदीको पुललाई लिएर जनकपुरधाममा बसेका युवाहरूको आमरण अनशन अन्त्य गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

उनले भने, ‘हुलाकी सडक एउटा इतिहाँस बोकेको सडक । रणनैतिक हिसाबमा अति महत्वपूर्ण सडक र मधेशको विभिन्न जिल्लाहरू जोड्ने, मधेशको लाइफ लाईनको रुपमा रहेको त्यो सडक धनुषा जिल्ला र सिरहा जिल्लालाई जोड्ने कमला नदीमा पुल निर्माण गर्दागर्दै त्यो पुल भासिएको स्थिति छ ।’

‘जसको कारणले गर्दा त्यस्तो रणनैतिक सडक आफ्नो उदेश्य र लक्ष्य प्राप्त गर्न सकिरहेको छैन’, सांसद यादवले भने ।

‘त्यो पुल निर्माण हुनुपर्छ, भ्रष्टाचारीहरू दण्डित हुनुपर्छ, राज्य जिम्मेवार भएर त्यस्ता गलत गर्नेहरूलाई सजाय दिनुपर्छ भनेर आज सिरहा र धनुषाका युवाहरू मधेश प्रदेशको राजधानी जनकपुरमा मुख्यमन्त्रीको कार्यालयको अगाडि आमरण अनशन बसिरहेका छन्’, उनले भने ।

जसपा नेपालका सांसद यादवले भने, ‘आमरण अनशनमा बसेका ती युवाहरूलाई विश्वास दिलाएर त्यो आमरण अनशन अन्त्य गर्नको लागि वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउँदै जोडदार माग गर्दछु ।’

‘हाम्रो राज्यले कसरी काम गरिरहेको छ ? यसमा बदमासी गर्नेहरू, कसरी बदमासी गरिरहेको छ ? त्यसबाट कसरी उन्मुक्ति पाइरहेको छभन्ने…मलाई लाग्छ यो प्रतिनिधिमूलक घटना हो’, सांसद यादवले भने ।

Published : Thursday, 2024 August 22, 10:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया