परराष्ट्रमन्त्री डा.राणा र ओमानका विदेशमन्त्री सइदबीच भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र ओमानका विदेशमन्त्री सइद बद्र हमाद हमुद अल बुसाइदीबीच भेटवार्ता भएको छ ।

मंगलबार काठमाडौंमा डा.राणा र सइदबीच भएको भेटमा नेपाल–ओमानको द्विपक्षीय हित, सम्बन्ध विस्तार र साझा चासोका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

डा.राणाले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरू भैरहवा र पोखरा विमानस्थलमा हवाई उडान सञ्चालनका लागि ओमानसँग आग्रह गरेकी छिन् ।

पहिला पनि ओमानले भैरहवामा हवाई उडान सुरु गरेको थियो । पछि हवाई उडान बन्द गरेको भए पनि हाल नेपाल सरकारले विदेशी एयरलाइन्सहरूलाई थप सुविधा उपलब्ध गराउने निर्णय गरेकाले पुनः उडान सञ्चालनका लागि परराष्ट्रमन्त्री डा.राणाले आग्रह गरेकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले नेपालको प्राकृतिक सौन्दर्य, नेपालमा सगरमाथा लगायतका विश्वका आठ हजारभन्दा अग्ला हिमालहरू एवं विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरूका कारण पनि नेपालको पर्यटकीय सम्भावना धेरै रहेकाले ओमानका पर्यटकको नेपाल आगमन लगायतका अन्य सम्भावनाहरूमा संयुक्त रूपमा केही गर्न सकिने प्रस्ताव गरेकी छिन् ।

डा.राणाले नेपालमा पर्यटनका क्षेत्रमा लगानी गर्न ओमानसँग आग्रह गरेकी छन् ।

डा.राणाले नेपालमा जलविद्युत लगायतका कैयौँ क्षेत्रमा लगानीका धेरै सम्भावना रहेकाले नेपालमा लगानीका लागि पनि विदेशमन्त्रीमार्फत ओमान सरकार लगानीकर्ताहरुलाई आग्रह गरेकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले नेपाल र ओमानबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको बताइन् । उनले नेपाल र ओमानका दुवैतर्फका लगानी तथा अन्य आदानप्रदानका सम्भावना र चासोका धेरै विषयमा कुरा गरेको र दुई देशबीच श्रम, स्वास्थ्य, पर्यटन र परराष्ट्र मामिलाका सम्बन्धमा छिट्टै सम्झौताको तयारी भएको बताइन् ।

उनले नेपालमा पर्यटनका क्षेत्रमा लगानी गर्न ओमान इच्छुक रहेको जानकारी पनि डा.राणाले दिएकी छिन् ।

वार्तामा नेपालले हवाई कनेक्टिभिटी, श्रमसम्बन्धी विषयहरू, लगानी, पर्यटन, कूटनीतिक आदानप्रदान एवं आवश्यक सबै प्रकारका सहयोग र समन्वयका विषय प्रस्तुत गरेको थियो ।

वार्तामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा.राणासहित परराष्ट्र सचिव सेवा लम्साल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे, ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याललगायतका अधिकारीहरू र ओमानका विदेशमन्त्रीको नेतृत्वका ओमानी अधिकारीहरू सहभागी थिए ।

Published : Tuesday, 2024 August 27, 3:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया