ब्राजिल ट्रान्जिटमा रहेका १७६ नेपालीबारे परराष्ट्रमन्त्री डा.राणाको चासो, सबै सकुशल, सहयोग गरिने

काठमाडौं । ब्रजिलस्थित नेपाली राजदूतावासले ट्रान्जिटमा रहेका सबै १७६ जना नेपाली नागरिकहरू सकुशल रहेको जनाएको छ ।

मंगलबार राजदूतावासले विज्ञप्ति जारी गरेर भनेको छ, ‘ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा नेपालीसहित ७ सय विदेशीहरू रोकिएको भन्ने समाचारप्रति यस दूतावासको ध्यानाकर्षण भएको छ । ट्रान्जिटमा रहेका सबै १७६ जना नेपाली नागरिकहरू सकुशल रहेका छन् । आवश्यक्ताअनुसार निजहरूलाई मानवीय सहायता पु¥याउन दूतावास तयारी अवस्थामा छ ।’

ब्राजिलमा १७६ जना नेपालीहरू ब्राजिलमा ट्रान्जिट इलाकामा रहेको भन्ने समाचारहरूबारे जानकारी हुनेवित्तिकै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल र सम्बन्धित शाखाका कर्मचारीहरूसँग जानकारी लिएर के कसरी ? सहयोग गर्न सकिन्छ भनेर लाग्न निर्देशन दिएकी छिन् । डा.राणाको निजी सचिवालयका अनुसार १७६ जना नेपालीहरूले चाहने आवश्यक सहयोग गर्न उनले मातहतलाई निर्देशन दिएकी छिन् ।

दूतावासले भनेको छ, ‘दक्षिण अमेरिका ब्राजिल लगायतका मुलुक हुँदै अवैध रुपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट अमेरिकी मुलुकहरू प्रवृत्ति बढ्दो छ ।’

‘संगठित रुपमा सञ्चालित मानव तस्करहरूको प्रलोभन र उक्साहटमा परी नेपालबाट समेत युवाहरू यस क्षेत्रमा आउने गरेको जानकारी बेलाबेलामा हुने गरेको छ’, विज्ञप्तिमा दूतावासले भनेको छ, ‘कयौंले अकल्पनीय पीडा व्यहोर्नुका साथै ठूलो धनराशी खर्च गर्नुपर्ने परिस्थितिमा फस्न पुगेको पाइएको छ ।’

दूतावासले भनेको छ, ‘ब्राजिल सरकारले तत्काल लागू हुने गरी नेपाल लगायत केही देशका राहदानीबाहकलाई प्रवेशाज्ञा लिएको भएमा मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको छ ।’

‘अब उप्रान्त नेपाली आगमन्तुकले ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने र त्यसरी नगएमा सोही विमानमार्फत फिर्ता पठाइने तर, विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाएको छ’, दूतावासले भनेको छ ।

‘मावन तस्करहरूको सञ्जाल प्रयोग गरी गरिने यस प्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित हुने समेत सन्दर्भमा जायज कारण भएमा सो पुष्टि गर्ने कागजात प्रवेशाज्ञा लिई मात्र ब्राजिल वा ब्राजिल हुँदै अन्य मुलुकको भ्रमणमा निस्कनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ’, ब्राजिलस्थित नेपाली राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Tuesday, 2024 August 27, 7:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया