आमा र छोरीमाथि खुकुरी प्रहार, युनिसाको हत्या
धरान । धरानमा १४ वर्षीया किशोरी युनिसा शाहीलाई खुकुरी प्रहारबाट हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
मंगलबार मध्यान्हमा धरान उपमहानगरपालिका–३ माछाभौडीमा खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा संखुवासभाको खाँदबारी नगरपालिका–२ बस्ने ३३ वर्षीय बबिन बराललाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
माछाभौडी बस्ने ३७ वर्षीया सिर्जना शाही र उनकी १४ वर्षीया छोरी युनिसा शाहीमाथि बहिनीज्वाई पर्ने खाँदबारी नगरपालिका–२ बस्ने ३३ वर्षीय बबिन बरालले खुकुरी प्रहार गरेका थिए ।
सिर्जना आफ्नै मोबाइल पसलमा बसिरहँदा बबिनसँग घरायसी विवाद भएको थियो । सामान्य झगडा हुँदा बबिनले सिर्जना र युनिसामाथि अन्धाधुन्धा खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट सिर्जनातको बाँया पाखुरामा चोट लागेको छ । युनिसाको बाँया छातीमा गम्भीर चोट लागेको थियो ।
घाइते दुबै जनालाई प्रहरीले उद्धार गरी उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा पठाइएको थियो । उपचारका क्रममा मंगलबार पौने १ बजे चिकित्सकले युनिसालाई मृत घोषणा गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया