पूर्वपत्नीको नाम जोडेर रास्वपाद्वारा कांग्रेस उपसभापति गुरुङको चरित्रहत्या

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूले सहकारीको रकम अपचलन नगरेको बताएका छन् ।

सोमबार उपसभापति गुरुङले विज्ञप्ति जारी गरेर सहकारीको रकम अपचलन नगरेको बताएका हुन् । उनले आफू सहकारीको सदस्य मात्रै रहेको भन्दै घर बनाउँदा १ करोड लिएर तिरेको बताएका छन् ।

उपसभापति गुरुङकी सम्बन्ध बिच्छेद भइसकेकी पत्नीको नाम जोडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुले चरित्रहत्या गर्न खोजेपछि खण्डन गरेका छन् ।

गुरुङले आफूले सहकारी संस्थाको बचत रकम ठगी र हिनामिना नगरेको बताएका छन् । गुरुङले श्रीमतीले सहकारीमा काम गरेको स्वीकार गर्दै आफ्नो कुनै सम्बन्ध नरहेकोले नाम जोड्नु गलत भएको बताएका छन् ।

उनले भने, ‘तत्कालीन मेरी श्रीमती ज्योति गुरूङ महालक्ष्मीस्थान ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थामा प्रबन्धकका रूपमा कार्यरत थिइन् । निज उक्त सहकारीमा रहँदा भएको हरहिसाब लगायत अपचलनबारे मलाई जानकारी हुने विषय भएन ।’

उनले भने, ‘जहाँसम्म मैले सहकारीमा रकम अपचलन, ठगी गरेको भन्नेबारे जे जस्ता भ्रामक समाचार सम्प्रेषित भएका छन्, त्यसप्रति मेरो गम्भीर आपत्ति छ । साथै निज ज्योतिजीसँग २०७६ फागुन २९ गते जिल्ला अदालत ललितपुरमा सम्बन्ध विच्छेद भइसकेकाले, ज्योतिजीसँग उक्त मितिदेखि कुनै किसिमको सम्बन्ध नभएको समेत जानकारी गराउँछु ।’

उपसभापति गुरुङले सहकारी अपचलनबारे छानबिन गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन् । ‘अनर्गल, असत्य, भ्रामक, कपोलकल्पित समाचारका पछाडि नलाग्न सर्वप्रथम म आम नेपाली जनता, शुभचिन्तक तथा पार्टीका केन्द्रदेखि वडा तह र विदेशस्थित सम्पूर्ण साथीहरूमा हार्दिक अपील गर्न चाहन्छु’, उपसभापति गुरुङले भनेका छन् ।

रास्वपाका सभापति रवि लामिछाने लगायतका नेताहरु सहकारीको करोडौं रकम अपचलन र ठगी काण्डमा मुछिएपछि कांग्रेसका नेताहरुको चरित्र हत्या गर्न फण्डाहरु निकालेका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसदले समेत उपसभापति गुरुङको बारेमा कुरा उठाएका छन् । उपसभापति गुरुङले रास्वपाले संसदमा उठाएको आफूविरुद्धका विषयमा संसदबाटै जवाफ दिने बताएका छन् ।

Published : Tuesday, 2024 September 10, 8:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया