शहरी विकासमन्त्री राणाद्वारा रिफ्रेस सेन्टर सञ्चालन र हस्तान्तरणबारे लुम्बिनीका मेयरहरुसँग परामर्श

मसुरिया । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले रिफ्रेस सेन्टरहरुलाई स्थानीय तहलाई हस्तान्तरण गर्नका लागि परामर्श गरेका छन् ।

मंगलबार देउखुरीको मसुरियास्थित मन्त्रालयमा तीन वटा नगरपालिकाका मेयर र सरोकारवाला निकायका व्यक्तिहरुसँग रिफ्रेस सेन्टरका विषयमा छलफल गरेको नेपाली कांग्रेस रुपन्देहीका नेता गोविन्द खनालले बताए । उनले भने, ‘शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाज्यूले रिफ्रेस सेन्टरहरु पूर्णरुपमा सञ्चालन गरेर यात्रालाई सुरक्षित बनाउने विषयमा छलफल गर्नुभएको हो । रिफ्रेस सेन्टर सञ्चालन गर्दा कसरी र कुन मोडलमा गर्ने भनेर छलफल भएको छ ।’

शहरी विकासमन्त्री राणाले लामो दुरीबाट आउने यात्रु र सवारी साधनहरुलाई रिफ्रेस गराएर सुरक्षित यात्रा बनाउने उद्देश्यले रिफ्रेस सेन्टरहरुलाई सञ्चालनमा ल्याइ स्थानीय तहलाई हस्तान्तरण गर्न लागेका हुन् ।

कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटा, रुपन्देहीको सैनामैनामा र नवलपरासी पश्चिमको बर्दघाटमा रिफ्रेस सेन्टर निर्माण गरिएको छ। तर सन्चालन सम्बन्धी कार्यविधिले अन्तिम रुप पाउन भने बाँकी छ ।

मन्त्री राणाले भने, ‘रिफ्रेस सेन्टरहरुमा यात्रुहरु रिफ्रेस हुनेछन् । बस लगायतका सवारी साधनहरुलाई प्राविधिक चेकजाँच हुनेछ । अनि मात्रै गन्तव्यतर्फ पठाउने तयारीका साथ गृहकार्य भइरहेको छ ।’

मन्त्री राणाले रिफ्रेस सेन्टर सञ्चालन गर्ने क्रममा कुन मोडल र कसरी दीर्घकाललाई यात्रु र सवारी साधनलाई सहज बनाउन सकिन्छ भनेर परामर्श गरेका हुन् ।

तत्कालीन समयमा राणा उद्योग तथा यातायात व्यवस्थामन्त्री भएका बेला राणाले रिफ्रेस सेन्टरहरु सञ्चालन गर्न गृहकार्य गरेका थिए । त्यस बेला छोटो समय मन्त्री भएका कारणाले यस पटक रिफ्रेस सेन्टरहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि आन्तरिक तयारी गरेका हुन् ।

मन्त्री राणासँगको छलफलमा शिवराज नगरपालिकाका मेयर अजय थापा, सैनामैना नगरपालिकाका मेयरका फणेन्द्रप्रसाद शर्मा र बर्दघाट नगरपालिकाका मेयर शम्भु श्रेष्ठ सहभागी रहेका थिए ।

रिफ्रेस सेन्टर सवारी चालक र यात्रुहरुका लागि सुविधायुक्त हुनेछ । महिला र पुरुषका लागि अलग/अलग शौचालय, अपाङ्गमैत्री शौचालय, स्नान घर, सुत्न मिल्ने कोठा र क्यान्टिनको व्यवस्था हुने छ । हाल ब्लकहरु निर्माण सकिइसकेको छ । बर्दघाटबाहेक अन्य स्थानका रिफ्रेस सेन्टर वरिपरि पर्खाल लगाउने काम पनि सम्पन्न भइसकेको छ । बर्दघाटको रिफ्रेस सेन्टर होचो भागमा बनेकाले माटो भरेर सतह मिलाउने काम बाँकी छ ।

प्रशस्त पार्किङ सुविधा रहेको रिफ्रेस सेन्टरमा विद्युतीय गाडीको चार्जिङ स्टेसन जडानको गृहकार्य पनि भइरहेको छ । त्यसका लागि ऊर्जा तथा सिंचाइ मन्त्रालय, नेपाल विद्युत प्राधिकरण र लुम्बिनी प्रदेश सरकारबीच छलफल चलिरहेको छ ।

Published : Wednesday, 2024 September 11, 9:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया