राप्रपाभित्र आन्तरिक किचलो, विवादमा निर्वाचन समिति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आन्तरिक चुनावमा जुटेको बेला निर्वाचन समितिका व्यक्तिले एकपक्षीय भक्ति र स्तुतिगान गाएको भन्दै आलोचना भएको छ ।

राप्रपाभित्र निर्वाचन समितिका सदस्य निष्पक्ष र स्वतन्त्र रहुन पर्ने आवाज उठेको छ ।

‘हरेक राजनीतिक दलले आफुलाई प्रजातान्त्रिक बनाउन तोकिएको समयमा नीति र नेतृत्वको लागि निर्वाचन गर्ने गर्दछ । त्यस्तो निर्वाचन स्वतन्त्र भएन भने त्यहाँ अराजकता उत्पन्न हुन्छ,’ राप्रपाका निर्वाचित केन्द्रीय सदस्य जनकराज पाठकले भनेका छन् ।

‘निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचनले दलको आन्तरिक प्रजातन्त्रको मापदण्ड निर्धारण गर्दछ’, पाठकले भने ।

उनले भने, ‘निर्वाचन समितिमा मनोनयन भएको दिन देखिनै जिम्मेवारी पाएका व्यक्ति निष्पक्ष बस्न सक्नुपर्छ । उसको काम कसैको गुणगान गाउने वा कसैलाई निषेध गर्ने नभएर तोकिएको जिम्मेवारी पूरा गरेर दललाई पूर्ण प्रजातान्त्रिक बनाउने हो ।’

राप्रपाले २०८२ वैशाखभित्र जिल्ला अधिवेशन र केन्द्रिय महाधिवेशन मंसिरभित्र सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । नयाँ नेतृत्व चुन्ने महापर्वको कार्यक्रम बाहिर ल्याउँदा पार्टी संस्थापनले अर्ली इलेक्सन गर्न लागेको भनेर प्रचारवाजी गरेको थियो ।

केन्द्रीय निर्वाचन समितिको संयोजकमा नेता तोरणबहादुर गुरुङ र सदस्य सचिवमा श्यामबहादुर शाहीलाई पार्टीले मनोनयन गरेको छ । पछिल्लो कार्यसम्पादन समिति वैठकले सात सदस्य थप गरेको छ ।

अरुको भूमिका जे जस्तो भएपनि सदस्य सचिव शाहीको आचरणमा पार्टीभित्र टीप्पणी र आलोचना हुने गरेको छ । उनले दिन बिराएर एकपक्षीय धारणा सार्वजनिक गर्ने गरेका छन् मानौं कि उनी निर्वाचन समितिमा नभएर कसै नेता र गुटको मुखपत्र प्रकाशनमा सक्रिय छन् ।

‘पार्टीमा ठूलाठूला पद पाएका नेताहरुले निर्वाचन समितिको जिम्मेवारी, भूमिका र आचारसंहिता नबुझेको, मर्यादा मिचेको देख्दा उदेक लाग्छ । मातृ पार्टीकै हालत यस्तो छभने केन्द्रीय पदाधिकारी स्वयम यूवा, महिला र विद्यार्थी संगठनभित्र हस्तक्षेप र बलमिचाई गर्न लागीपरेका छन्, यसले हामीलाई दुखित र चिन्तित बनाएको छ’, विद्यार्थी संगठनका एक केन्द्रीय सदस्यले भने ।

पार्टी नेता पाठकले सामाजिक संजालमा लेखेका छन्, ‘निर्वाचन समितिमा बस्ने व्यक्तिले एकपक्ष लिए त्यसरी हुने निर्वाचनमा शंका हुन्छ ।’

‘व्यक्तिको गुणगान गाउन वा भक्तिगान गाउने पनि सबैलाई अधिकार हुन्छ तर, त्यस्तो व्यक्ति निर्वाचान समितिको लागि अयोग्य ठहर्छ’, पाठकले भने ।

Published : Friday, 2024 September 13, 12:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया