गाडी दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगाकी उपाध्यक्षसहित ३ जनाको मृत्यु

लमही । गाडी दुर्घटना हुँदा रुकुमपूर्व जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढासहित ३ जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान रा १ झ २०० नम्बरको सरकारी गाडी बागलुङको गलकोट नगरपालिका वडा नं. २ भुङखानीमा दुर्घटना हुँदा ३ जनाको मृत्यु र १ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । गाडी मध्य पहाडी लोकमार्गमा दुर्घटना भएको थियो । दुर्घटनामा उपाध्यक्ष बुढाकी आमा ६१ वर्षीय गोपीमाया बुढाको पनि निधन भएको छ ।

बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले दुर्घटनामा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको बताएका छन् । मृत्यु भएका एक जनाको सनाखत हुन सकेको छैन ।

मृत्यु भएका मध्ये एकजना वडाध्यक्ष पनि रहेको हुन सक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । उपाध्यक्ष बुढा आमाको उपचार गराउन काठमाडौं गएकी थिइन् । नेकपा (माओवादी केन्द्र)बाट उनले उपाध्यक्षमा जितेकी थिइन् ।

रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) माधव शर्माले उपाध्यक्ष बुढा काठमाडौंबाट रुकुमपूर्व आउने क्रममा गाडी दुर्घटनामा परेको बताएका छन् ।

उपाध्यक्ष सवारी गाडी सडकबाट करिब ३ सय मिटर तल भिरमा खसेको छ । दुर्घटनाको जानकारी पाएलगत्तै नरेठाँटी चौकीबाट प्रहरी टोली खटिएको थियो । अप्ठेरो भिरमा गाडी दुर्घटना भएकाले उद्धारमा कठिनाइ भएको छ ।

Published : Friday, 2024 September 13, 12:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया