संसदीय समितिबाट १६ देशका प्रस्तावित राजदूतहरूको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ ।

बिहीबार सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले सरकारले सिफारिस गरेका १७ मध्ये १६ देशका लागि नेपाली राजदूतको नाम बहुमतले अनुमोदन गरेको हो ।

समिति सभापति ईश्वरी न्यौपानेले शैक्षिक योग्यताको प्रमाणपत्रको विषयमा प्रश्न उठेपछि श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम भने अनुमोदन नगरिएको बताएकी छिन् ।

भट्टराईको शैक्षिक योग्यताको प्रमाणपत्र आएपछि अर्को बैठकमा थप छलफल गर्ने सभापति न्यौपानेले बताएकी छिन् ।

राजदूतको नाम अनुमोदन गर्दा विभिन्न दलका समिति सदस्यहरूको फरक–फरक मत आएपछि सर्वसम्मत हुन नसकेको सभापति न्यौपानेले बताएकी छिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्यालले इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डित, दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपिलमान श्रेष्ठ र मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिम्सिनाका विषयमा र जसपा नेपालका सांसद प्रकाश अधिकारीले भारतका लागि प्रस्तावित राजदूत शंकर शर्माका साथै पण्डित, श्रेष्ठ र तिम्सिनामाथि फरक मत दर्ज गराएको सभापति न्यौपानेले बताइन् ।

समितिले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत र अन्य दुई देशका प्रस्तावित राजदूत उपर सार्वजनिक उजुरी आह्वान गरेको छ ।

संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउत, अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल उपर सार्वजनिक उजुरी आह्वान गर्ने गर्ने निर्णय गरिएको समिति सभापति न्यौपानेले बताएकी छिन् ।

Published : Thursday, 2024 September 19, 7:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया