इजाजत प्राप्त हातहतियार सरकारी कार्यालय तथा सार्वजनिक स्थलमा बोकेर हिड्न रोक

काठमाडौं । गृह मन्त्रालयले इजाजत प्राप्त हातहतियार सरकारी कार्यालय तथा सार्वजनिक स्थलमा बोकेर हिड्न रोक लगाएको छ ।

बिहीबार सूचना जारी गरेर मन्त्रालयले संसद भवन, अदालत, सरकारी कार्यालय, अस्पताल, शैक्षिक संस्था, सार्वजनिक यातायात, हाटबजार तथा सपिङ मल, सिनेमा हललगायत सरकारी तथा सार्वजनिक स्थलमा दर्ता हतियार बोकेर हिँड्न नपाउने गरी आदेश जारी गरेको हो ।

सूचनामा भनिएको छ, ‘नेपाल सरकारले हातहतियार खरखजाना ऐन २०१९ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी सोही ऐनको दफा ३ बमोजिम हातहतियार राख्न वा लिएर हिड्न इजाजत प्राप्त गरेका तर, दफा ४ र ५ बमोजिम यात्रा इजाजतपत्र प्राप्त नगरेका हातहतियार घरबाहिर लैजान नपाउने र इजाजत प्राप्त हतियारसमेत न्यायिक निकाय, संसद भवन तथा परिसर, हातहतियारको इजाजत लिएको कार्यालयमा इजाजत नवीकरणका लागि ल्याउने वा लैजाने प्रयोजनबाहेक सरकारी कार्यालयहरू, अस्पताल, विमानस्थल, सार्वजनिक सवारी साधन, धार्मिक तथा शैक्षिकस्थल, सिनेमा हल, व्यवसायिक भवन, हाटबजार तथा सपिङ मल, सभा, जुलुस भएको स्थान, पुरातात्विक र संरक्षित स्थल, बाल गृह तथा प्रचलित कानूनले निषेध गरेका अन्य क्षेत्रमा समेत लैजान निषेध गरेकोले यो सूचना प्रकाशित गरिएको छ ।’

हातहतियार खरखजाना ऐन २०१९ को दफा ८ मा ‘कुनै निश्चित ठाउँमा हातहतियार, खरखजाना राख्न मनाही’ गरिने उल्लेख छ ।

दफामा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको ठाउँमा तोकिएको कुनै किसिमको हातहतियार वा खरखजाना कुनै व्यक्तिले पनि राख्न नपाउने गर्न सक्नेछ उल्लेख छ ।

सरकारले तोकिएका शर्त र बन्देजको अधीनमा रहने गरी तोकिएका क्षमताका हतियार राख्न सम्बन्धित व्यक्तिलाई लाइसेन्स दिनसक्ने प्रबन्ध छ ।

तोकिएका शर्तविपरीत काम गरेमा दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिवाना हुने भनिएको छ ।

२०८० चैत ५ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईंका बडिगार्ड झापाको बुद्धशान्ति गाउँपालिका–४ का दीपक खड्का सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका थिए ।

प्रहरीले खड्काको साथबाट ‘मेड इन जर्मनी’ लेखिएको ‘आर्मेरिया परिनी–एसआरएल’ स्वचालित हतियार (राइफल) र त्यसमा लाग्ने १ सय राउण्ड गोली पनि बरामद गरेको थियो ।

Published : Thursday, 2024 September 19, 8:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया