ओली-मोदी वार्ता गराउन परराष्ट्रमन्त्री डा.राणाद्वारा कुटनीतिक पहल, आइतबार भेटकाे सम्भावना

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटवार्ता गराउन गृहकार्य गरेकी छिन् ।

डा.राणाले अमेरिकाको न्यूयोर्कमा ओली र मोदीलाई असोज ६ गते आइतबार भेटवार्ता गराउन गृहकार्य गरेको उच्च स्रोतले जनाएको छ । ओली र मोदीबीच स्थानीय समयअनुसार साढे ५ बजे भेटवार्ता हुनेछ ।

‘परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाज्यूको कुटनीतिक प्रयास जारी छ । प्रधानमन्त्री केपी ओलीज्यूको भारतीय समकक्षी नरेन्द्र मोदीज्यूसँगको भेटवार्ता सुनिश्चित भएको छ’, उच्च स्रोतले भन्यो, ‘कार्यक्रममा हेरफेर नभएमा सेप्टेम्बर २२ अर्थात् असोज ६ गते उहाँहरूबीच भेटवार्ता हुनेछ ।’

केही हप्ता अगाडि भारतको औपचारिक भ्रमण गरेकी परराष्ट्रमन्त्री डा.राणाले भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेकी थिइन् । मोदीले डा.राणालाई भव्य स्वागत गरेका थिए । डा.राणाको कुटनीतिक क्षेत्रमा राम्रो दखल छ । छिमेकी राष्ट्र भारत र नेपालबीच रहेका सुमधुर सम्बन्धलाई अझै प्रगाढ बनाउन परराष्ट्रमन्त्री डा.राणाले आफ्नो तर्फबाट कुटनीतिक प्रयास र पहलहरू गरिरहेकी छिन् ।

संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन प्रधानमन्त्री ओली शुक्रबार कतार हुँदै अमेरिका प्रस्थान गरेका छन् । ओली शनिबार न्यूयोर्क पुगेका छन् ।

भारतीय प्रधानमन्त्री मोदी शनिबार न्यूयोर्क प्रस्थान गर्नेछन् । न्यूयोर्क पुगेलगत्तै ओली र मोदीबीच भेटवार्ता हुनेछ ।

न्यूयोर्कमा हुने भेटमा ओली र मोदीबीच नेपाल–भारतबीचको द्विपक्षीय हितका विषयमा छलफल हुनेछ ।

नेपाल–भारतबीचको सम्बन्धलाई मजबुत बनाउन र दुई देशका सरकारबीच आपसी सहकार्यका विषयमा पनि ओली–मोदीबीच छलफल हुने उच्चस्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओली असोज १२ गतेसम्म न्यूयोर्कमा रहनेछन् । ओलीले उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम पनि छ ।

असोज १० गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री ओली १४ गते नेपाल फर्किने कार्यक्रम छ ।

Published : Saturday, 2024 September 21, 3:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया