कांग्रेसलाई नम्बर वान पार्टी बनाउन सबैको साथ र सहयोगको अपेक्षा छ : देउवा

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसलाई नम्बर वान पार्टी बनाउन सबैको साथ र सहयोगको अपेक्षा गरेको बताएका छन् ।

शनिबार काभ्रेको धुलिखेलमा वीपी कोइरालाको सालिक अनावरण गर्दै, ‘म सबै साथीभाईहरूलाई आग्रह गर्न चाहन्छु कि अहिलेको यो संविधान छ ।’

‘समावेशी समानुपातिक सिस्टम छ हामीले ल्याएको । यसमा यति धेरै गाह्रो छ’, पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले भने, ‘कुनै एउटा पार्टीको बहुमत प्राप्त गर्न गाह्रो छ । तैपनि हामीले यो गाह्रो काम नै गर्नु पर्‍यो ।’

‘मेहिनत ग¥यो भने बहुमत प्राप्त गर्न सक्ने पार्टी हुन्छ भन्ने मलाई विश्वास छ’, उनले भने, ‘कांग्रेस कमसेकम जनताले विश्वास गरेको पार्टी हो ।’

सभापति देउवाले कांग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको बताएका छन् ।

देउवाले सत्ताका लागि कचकच भइरहेका बेला दुई ठूला पार्टीबीचको गठबन्धनले जनतामा आनन्द र खुसी छाएको बताए ।

सभापति देउवाले सत्ता सहकार्य गरेर दलहरूले जनताको पक्षमा काम गर्नुपर्ने बताएका छन् ।

पार्टीलाई आगामी निर्वाचनमा कम्तीमा पहिलो पार्टी बनाउने गरी मेहिनत गरेर जनताको पक्षमा खटिएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सभापति देउवाले निर्देशन दिएका छन् ।

कांग्रेसले बढी गफ गर्छ, काम गर्दैन भन्ने गुनासो आइरहेको भन्दै उनले दुःखमा परेका जनताको पक्षमा काम गर्न पनि पार्टीका नेता, कार्यकर्तासँग आग्रह गरेका छन् ।

‘एमाले र कांग्रेस दुई वटा पार्टी मुख्य प्रतिस्पर्धी पार्टी हो’, देउवाले भने, ‘दुई वटै पार्टी मिल्दाखेरि के हुन्छ भन्ने चिन्ता पनि छ मानिसहरूलाई । प्रतिष्पर्धी पार्टी मिल्दाखेरि देशभरिमा नै मैले थाहा पाए अनुसार त नेपाली जनताहरू खुसी भएका छन् ।’

उनले भने, ‘कति कचकच गर्ने, दुई वटा पार्टी मिलेका छन् आनन्द भएको छ भन्नेहरू छन् यहाँ । त्यसकारण दुई वटा पार्टी मिलेर देशभरमा एउटा सकारात्मक सन्देश दिएको छ ।’

‘हामीले काम पनि त्यही अनुसार गर्नु प¥यो । कांग्रेसले गफ बढी गर्छ, काम गर्दैन भन्छन्’, सभापति देउवाले भने, ‘जनताको मन जित्ने गरी कामहरू गर्नुहोला ।’

Published : Saturday, 2024 September 21, 9:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया