स्वास्थ्यमन्त्री पौडेलद्वारा सात प्रदेशमा मुटु रोगको सेवा सञ्चालन गर्ने निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रलाई सात प्रदेशमा सेवा बिस्तार गर्ने निर्णय गरेका छन् ।

मंगलबार काठमाडौंमा बसेको केन्द्रको सञ्चालक समिति बैठकले ७ प्रदेशमा मुटु रोगको उपचार सेवा सञ्चालन गर्ने निर्णय गरिएको केन्द्रका अध्यक्ष समेत रहेका मन्त्री पौडेलले बताएका छन् ।

बागमती प्रदेशमा मात्रै केन्द्रले मुटु रोग उपचार सेवा गर्दै आएको छ । बाँकी रहेका ६ प्रदेशमा पनि सेवा विस्तार गर्ने निर्णय भएको छ । मन्त्रालयसँगको समन्वयमा केन्द्रले ६ प्रदेशमा सेवा विस्तारको काम अगाडि बढाउनेछ ।

स्वास्थ्यमन्त्री पौडेलले मन्त्रालयले सबै प्रदेशमा प्रादेशिक अस्पतालहरूमार्फत विशिष्ट कृत उपचार विस्तार गर्ने योजनाअन्तर्गत क्यान्सर उपचार सुरु भैसकेको बताएका छन् । उनले मुटु रोगको उपचारसमेत विस्तारको निर्णय गरिएको बताएका छन् ।

स्वास्थ्य मन्त्रालयले केही दिन अगाडि जलन उपचार सेवासमेत सबै प्रदेशमा आफ्नै श्रोतमा निःशुल्क रूपमा सञ्चालन गर्ने तयारी गरेको छ ।

Published : Tuesday, 2024 October 1, 9:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया