एसपीहरू मिसाएर एसएसपीमा बढुवा गर्न सुझाव, बढुवा सूचीमा अधिकांश माओवादी-रास्वपा निकटका

काठमाडौं । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी)हरूको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा हुन लागेका बेला २०५८ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका ११४ टोलीबाट सबैलाई मिसाएर एसपीबाट एसएसपीमा बढुवा गर्नुपर्ने सुझाव गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरलाई सुझाव आएको छ ।

११४ टोलीबाट डीएसपी रमेश थापासहितका १०/१२ जना २०७५ को अन्तिममा एसपीमा बढुवा भएका थिए । सोही बेला असईबाट आएकाहरू पनि एसपीमा सँगै बढुवा भएका थिए ।

११४ टोलीबाटै २०७६ को अन्तिममा देव विष्टसहितका डीएसपीहरूको एसपीमा बढुवा भएको थियो । ११४औँ टोलीबाट प्रहरी निरीक्षक भएका राम्रा र फ्रेस एसपीहरूलाई मिसाएर बढुवा गर्नुपर्ने सुझाव आएका छन् ।

२० वटा एसएसपीको पद रिक्त हुन लागेको छ । असईबाट आएका र माओवादी भनिएर चिनिएका एसपीहरू आफू सुरक्षित हुन ०७५ मा बढुवा भएकालाई मात्रै एसएसपीमा बढुवा गर्नुपर्ने लबिङमा लागेका छन् । ०७६ मा बुढवा भएका एसपीहरूले ११४औँ टोलीका फ्रेस एसपीहरूलाई पनि मिसाएर एसएसपीमा बढुवा गर्नुपर्ने अडानमा छन् । आईजीपी कुँवर पनि ११४औँ टोलीमा फ्रेस प्रहरी निरीक्षकमा भर्ना भएका एसपीहरूलाई नै एसएसपीमा बढुवा गरेर अगाडि बढाउने पक्षमा छन् ।

०७५ मा असईबाट आएकालाई भ्रष्ट र खराब आचरणका एसपीलाई रोकेर ०७६ का एसपीलाई एकसाथ बढुवा गर्नुपर्ने दवाव पनि छ ।

०७५ मा बढुवा भएका एसपीहरू रमेश थापा, अनुपमशम्शेर जबरा, जनार्दन जिसी राम्रा एसपी मानिन्छन् । रमेश थापा आईजीपी बन्ने दौडमा छन् । ०८५ कै व्याचमा असईबाट आएका भ्रष्ट र विवादित छवि बनाएका एसपीहरू पनि छन् । ती विवादित र भ्रष्ट छवि बनाएका एसपीहरू एसएसपी बढुवामा पर्न न्वारनदेखिको बल लगाइरहेका छन् ।

तत्कालीन समयमा गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाको चाकडी र शुभलाभ गरेर आएका एसपीहरू पनि एसएसपी बन्न जोडबल गरिरहेका छन् ।

हाल सीआईबीमा रहेका एसपी होविन्द्र बोगटी पनि माओवादी निकट मानिन्छन् । असईबाट आएका एसपी सन्तोष खड्का पनि माओवादी निकटका हुन् । एसपी प्रकाश रानाभाट पनि माओवादी निकट मानिन्छन् । यी एसपीहरू माओवादी कार्यकालमा निकै अवसर पाउनेमा पर्छन् ।

एसपी नवराज अधिकारी हाल रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने निकटका हुन् । लामिछाने गृहमन्त्री बनेका एसपी अधिकारीको ठूलै हालिमुहाली थियो । एसपी अधिकारीले शुरुमा एमालेकी नेतृ निरु पाललाई प्रयोग गरेर ठूलो लाभ र अवसर पाए । पछि एमालेलाई लात हानेर माओवादी नेतृ एवम् पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी विना मगरमार्फत जिल्ला प्रहरी कार्यालय चितवनको जिम्मेवारी पाए । एसपी अधिकारीले हाल माओवादीलाई पनि छाडेर आफूलाई रास्वपा अर्थात् ‘घण्टी’तिर नजिक बनाएको प्रहरी हेडक्वाटर नक्सालभित्र चर्चा छ ।

एसपी कृष्णप्रसाद कोइराला पनि माओवादी निकट मानिन्छन् । तत्कालीन समयमा माओवादीका नारायणकाजी श्रेष्ठ गृहमन्त्री रहेका बेला एसपी कोइराला एक्लै एसएसपीमा बढुवा हुन प्रयास गरेका थिए । अन्य एसपीहरूले सामूहिक रुपमा आईजीपी कुँवरसमक्ष विरोध गरेपछि एक्लै एसएसपीमा बढुवा हुने एसपी कोइरालाको योजना तुहिएको थियो । उनीहरू डीएसपीबाट एसपीमा बढुवा हुँदा धेरै पछाडि थिए । प्रतीक थापाको निगाह भएपछि अगाडि ल्याएर बढुवा गरिएको थियो ।

‘फ्रेस’ एसपीहरू वेद विष्ट, शिवकुमार श्रेष्ठ, प्रकाश मल्ल, दयानिधि ज्ञवाली, सन्तोष भट्टराई, प्रभु ढकाल, राजेन्द्रप्रसाद धमला लगायत रहेका छन् ।

उता, कात्तिक १५ र १७ गते दुई वटा एआईजी अवकासमा जान लागेका छन् । कात्तिकको ११ गते एक जना डीआईजी पनि अवकासमा जानेछन् ।

त्यसपछि प्रहरीमा दुई एआईजी र ८ डीआईजीको पद रिक्त रहनेछ । एसएसपीबाट डीआईजीमा बढुवाका लागि सिद्धिविक्रम शाह हालसम्म पहिलो नम्बरमा देखिएका छन् ।

Published : Wednesday, 2024 October 23, 12:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया