रास्वपाका नेताहरूको छुद्र अभिव्यक्ति आएका बेला ओलीले भने- अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य छैन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मुलुकमा अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनमा रहेका दलहरूको बैठकमा ओलीले लोकतन्त्रका लागि लडेका राजनीतिक दलहरूले अराजकता स्वीकार्न नसक्ने बताए ।

सहकारीको करोडौं रकम ठगीमा संसदीय समितिबाट कारबाही सिफारिसपछि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि रास्वपाका नेताहरूबाट अराजक अभिव्यक्ति आइरहेका बेला ओलीले अराजकता स्वीकार नगर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रप्रतिको प्रतिबद्धतामा कमी नआउने बताएका छन् । उनले सत्ता समीकरणमा रहेका दलहरू एकता र एकढिक्का भएर प्रस्तुत हुनुपर्ने बताएका छन् ।

लोकतान्त्रिक पद्धति, मूल्य र मान्यताप्रति आफूहरू प्रतिबद्ध रहेको ओलीले बताए । उनले राष्ट्रिय सद्भाव र हितको रक्षाका प्रश्नमा कुनै सम्झौता नहुने बताएका छन् ।

ओलीले भने, ‘हामी लोकतन्त्रका लागि लडेका हौँ । हामीलाई लोकतन्त्र मात्रै स्वीकार्य छ, अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य छैन ।’

‘जनतालाई सार्वभौमसत्तासम्पन्न बनाउनका लागि आजीवन लागेका छौँ’, ओलीले भने, ‘हाम्रो यो प्रतिबद्धता र दृढतामा कुनै कमी आउँदैन, यसमा हामी स्पष्ट छौँ ।’

ओलीले लोकतान्त्रिक पद्धति, विधिको शासन, सुशासन र जनतामा सेवा प्रवाहका विषयमा सरकार स्पष्ट भई दृढताका साथ काम गरिरहेको अन्य राजनीतिक दलका नेताहरूलाई जानकारी गराएका छन् ।

Published : Wednesday, 2024 October 23, 1:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया