सहकारी ठगलाई कारवाही, वचतकर्ताको वचत फिर्ता गर्न प्राधिकरण ऐन तर्जुमा हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारवाही हुने बताएका छन् ।

बुधबार सिंहदरबारबाट सम्बोधन गर्दै ओलीले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरूमाथि सरकारले कानूनी कारवाही शुरु गरेको बताए ।

उनले भने, ‘हालसम्म ६ सयभन्दा माथिलाई कानूनी कारवाही गरिएको छ । ५७५ भन्दा बढी त जेलमै छन् ।’

‘सहकारी ठगहरूलाई कारवाही गर्ने मात्र होइन, वचतकर्ताको वचत फिर्ता गर्नको लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधीकरण स्थापना गर्ने काम पनि सँगसँगै अघि बढाइँदै छ’, प्रधानमन्त्री ओलीले भनेका छन् ।

भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिनको हल्लाबाजी, सुटिङ गरेर देखाउने विषय बन्न नहुने भएकाले यसले सुशासनको प्रणालीका रुपमा गति लिनु पर्छ भन्नेमा सरकार स्पष्ट रहेको ओलीले बताएका छन् ।

‘भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई होइन, कानूनलाई गुरु मानेको छ’, ओलीले भने, ‘भ्रष्टाचारी समातियो भन्ने, केही समय हल्ला मच्चिने तर, परिणाममा भ्रष्टाचार बढ्दै जाने खालको अवस्था होइन, परिणाममा भ्रष्टाचार नियन्त्रण हुने कानूनी प्रणाली स्थापित हुने पद्दति बसाल्ने हाम्रो प्राथमिकता छ ।’

उनले भने, ‘भ्रष्टाचारका कसूरमा फस्ने त्रास र त्यसबाट उम्किने आकांक्षा, भ्रष्ट र भ्रष्टाचारका मतियार जोगाउने उद्देश्यका साथ देशमा अस्थिरता र अराजकता फैलाउन खोज्ने तत्वहरू सक्रिय रहेको हामीले देखिरहेका छौं ।’

Published : Wednesday, 2024 October 23, 7:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया