चितवनका सीडीओ र एसपीको जिम्मेवारी खोसियो, अध्यागमन विभागको महानिर्देशकमा रिजाल

काठमाडौं । जिम्मेवारीअनुसारको काम गर्न नसकेको भन्दै चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईन्द्रदेव यादव र प्रहरी प्रमुख (एसपी) भावेश रिमालको सरुवा भएको छ ।

बुधबार गृह मन्त्रालयले सीडीओ यादवलाई मन्त्रालयमा तानेको छ । चितवनको सीडीओमा सहसचिव प्रकाश पौडेलको सरुवा भएको छ ।

यता, नेपाल प्रहरी प्रधान कार्यालयले चितवनको प्रहरी प्रमुख (एसपी)मा गौतम मिश्रलाई पठाएको छ । मिश्र मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलमा कार्यरत थिए । चितवनका एसपी रिमाललाई हटाएर हेडक्वाटरले मानव बेचबिखन अनुसन्धान व्यूरोमा ल्याएको छ ।

संसदीय समितिबाट सहकारीको रकम ठगीमा पक्राउ गरेर अनुसन्धान गर्न सिफारिस गरेपछि रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा चितवनको भरतपुरमा रास्वपाका कार्यकर्ताले प्रधानमन्त्री केपी ओलीको शवको प्रतीक बनाएर नारायणीमा दाहसंस्कार गरेका थिए ।

प्रधानमन्त्रीको शव बनाएर नारायणी नदीमा दाहसंस्कार गर्दा समेत थाहा नपाउने सीडीओ र एसपी रिमाललाई जिम्मेवारीबाट हटाइएको छ ।

चितवनका प्रहरी प्रमुख एसपी रिमालले तस्करहरूलाई संस्करण गर्ने, शान्ति सुरक्षा बनाउनुभन्दा पनि उठ्तीपुठ्तीमा लागेको जस्ता आरोप तथा गुनासाहरू हेडक्वाटरमा आएका थिए । एसपी रिमालका गतिविधिबाट आईजीपी बसन्तबहादुर कुँवर निकै चिडिएका थिए ।

यसैबीच, गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा सहसचिव गोविन्द रिजालको सरुवा गरेको छ । यसअघिका विभागका महानिर्देशक कोशहरि निरौलाको बिहीबारको मन्त्रिपरिषद् बैठकले अन्यत्र सरुवा गरेपछि विभागमा महानिर्देशक खटाइएको थिएन ।

Published : Wednesday, 2024 October 23, 7:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया