मकवानपुरमा चाेरहरूको ठूलो समूह पक्राउ

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरीका विभिन्न घटना संलग्न ८ जनालाई सार्वजनिक गरेको छ ।

असोज २२ गते हेटौंडा सिमेन्ट उद्योगबाट तार चोरी भएसँगै घटनामा संलग्नलाई पक्राउ गर्न लागेको मकवानपुर प्रहरीले ५ वटा चोरीको घटनामा संलग्न आठजनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले हेटौंडा सिमेन्ट उद्योगबाट चोरी भएका बिजुलीको तारसहित ३ जना पक्राउ गरेको छ ।

हेटौंडा–९, लामसुरेस्थित हेटौंडा सिमेन्ट उद्योगको पश्चिमतर्फको रोपवेदेखि क्रसरसम्मको तामाको तारहरू काटेर चोरी गर्ने ३ जनालाई पक्राउ गरेको मकवान प्रहरीका प्रमुख (एसपी) विश्वराज खड्काले बताए ।

एसपी खड्काले चोरीमा संलग्न हेटौंडा–१२ का मनिराज थोकर, हेटौंडा–१३ का सन्तबहादुर तितुङ र भारत मोतीहारी जिल्ला चिरैया थाना–७ का दिलखुशकुमार साहलाई पक्राउ गरेको बताए ।

तार चोरीमा ७ जनाको संलग्ना रहे पनि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ । अन्यको खोजीकार्य भइरहेको छ ।

उनीहरू उद्योग नजिकैको प्लटिङ गरेको जग्गामा तार लुकाएर हेटौंडा–४, वनविज्ञान अध्ययन संस्थान नजिकै कवाडीमा बिक्रीवितरण गर्दा पक्राउ गरिएको थियो । दिलखुश कुमार कवाडी पसल सञ्चालक हुन् । उनले तार खरिद गरेका थिए ।

प्रहरीले हेटौंडा–८, कर्णावती मार्गस्थित शिव गौतमको निर्माणाधीन घरबाट बिजुलीको तारहरू चोरी गर्ने सोही स्थानका २६ वर्षीय सुमन राई, २५ वर्षीय समिर घिमिरेलाई पक्राउ गरेको छ । उनीहरू कमाने बिन्दवासिनीस्थित निर्माणाधीन चर्चको भवनमा राति सुतेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।

हेटौंडा–८ क्याम्पास्थित हेटौंडा फन भिल्लाबाट साउण्ड सिस्टम १ थान र नगद २० हजार रुपियाँ नगद तथा हेटौंडा–२ स्थित शान्तिटोलबाट राजेश थापा क्षेत्रीको ना.३ प ४७३ नम्बरको यामाहा कम्पनीको मोटरसाइकल पार्किङ गरी राखेको अवस्थामा चोरी गर्ने कमानेका २४ वर्षीय सुशान्त श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुरगढी गाउँपालिका–२, शिखरकटेरीस्थित कान्तिलोकपथ सडकखण्डमा प्रदेश २–०१–००३ प ६१०५ नम्बरको मोटरसाइकल चालक कञ्चनपुर जिल्ला बेलडी–३ घर भइ फास्टट्र्याकमा वेल्डिङको काम गर्ने २४ वर्षीय राजेश्वर चौधरी र राहुल चौधरीलाई लेनडाँडाबाट ३७ किलो सेतो धातुको बिजुलीको तार चोरे हेटौंडातर्फ आउँदै गर्दा प्रहरीले पक्राउ गरेको थियो ।

Published : Thursday, 2024 October 24, 8:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया