मुलुकलाई अप्ठ्यारो परेको बेला कांग्रेसले ऐतिहासिक भूमिका निर्वाह गरेको छ : बालकृष्ण खाण

भैरहवा । नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले बलियो कांग्रेसबाट मात्रै मुुलुकमा विकास र समृद्धि सम्भव भएको बताएका छन् ।

शनिबार नेपाली कांग्रेस सिद्धार्थनगर समिति, रुपन्देहीले भैरहवामा आयोजना गरेको शुभकामना कार्यक्रम पूर्वगृहमन्त्री समेत रहेका नेता खाणले कांग्रेसलाई बलियो बनाउने दायित्व कांग्रेसकै रहेको बताए ।

खाणले भने, ‘बलियो कांग्रेसले मात्रै विकास समृद्धि ल्याउँछ, मुलुकमा स्थापित व्यवस्थालाई बलियो र सफल बनाउन पनि कांग्रेस बलियो हुनुपर्छ ।’

‘राजनीतिक स्थायित्वको लागि पनि कांग्रेस बलियो हुनुपर्छ’, खाणले भने, ‘मुुलुुकलाई अप्ठ्यारो परेको बेला कांग्रेसले ऐतिहासिक भूमिका निर्वाह गरेको छ ।’

कार्यक्रममा नगर समितिका संस्थापक तथा पूर्व सभापतिहरूलाई सम्मान गरिएको थियो ।

पूर्वसभापति बलराम गौतम, सचिव दीर्घराज काफ्ले, पूर्व नगर सभापति दीपक क्षेत्री न्यौपाने, सुरेन्द्रजंग थापा, दिलिप धिताल, परिवर्तनका आन्दोलनमा अग्रपंक्तिमा रहेका दीपेन्द्रमान श्रेष्ठ र दिलिप भट्टराईलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा कांग्रेसकी केन्द्रीय सदस्य गंगा शाही, पूर्व सांसद प्रमोदकुुमार यादव, रुपन्देही कांग्रेसका सभापति रामकृष्ण खाण, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, लुुम्बिनी प्रदेश सभा सदस्य सन्तोषकुमार पाण्डेय, कांग्रेसका नगर सभापति कोशिसबहादुर खड्का, सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँ, नगर उपसभापति देवराज न्यौपाने, नगर सचिव अनिलकुमार केसी, सिद्धार्थनगर वडा नं. ९ का वडा सभापति श्यामसुन्दर खनाल लगायतले कांग्रेसको जग क्रियाशील सदस्य रहेको भन्दै क्रियाशीलको भावनाअनुसार कांग्रेस अगाडि बढ्नुुपर्ने बताएका छन् ।

कार्यक्रममा २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. २ र १३ मा वडाध्यक्ष पदको उम्मेदवारहरू कांग्रेसमा प्रवेश गरेका छन् ।

वडा नं. २ मा वडाध्यक्षको उम्मेदवार बनेका सुनिलकुमार पुन र वडा नं. १३ मा उम्मेदवार बनेका नितेश जालन्धर पनि कांग्रेसमा प्रवेश गरेका छन् । पुन ७ मतले पराजित भएका थिए । जालन्धरले चौथो स्थान प्राप्त गरेका थिए ।

२०७४ सालमा नेकपा (माओवादी केन्द्र) बाट वडाध्यक्षको उम्मेदवार बनेका पुन झिनो मतले पराजित भएका थिए । उनीहरूलाई कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री खाणले पार्टीमा स्वागत गरेका छन् ।

Published : Saturday, 2024 October 26, 7:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया