निलो क्रान्ति तरुण दल हो, भ्रष्ट र सहकारी ठगले निलो क्रान्तिको बदनाम गरे : विद्वान गुरुङ

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले निलो क्रान्ति २०१० सालमा नै तरुण दलले शुरु गरेको बताएका छन् ।

शनिबार काठमाडौंको चोभारमा तरुण दलको ७२औँ स्थापना दिवसका अवसरमा वृक्षारोपण कार्यक्रममा अध्यक्ष गुरुङले पोखरातिर सहकारीका ठगहरूले निलो क्रान्तिको मानमर्दन गरेको बताए । उनले भ्रष्ट, सहकारी ठगहरूविरुद्ध तरुणहरू सडकमा आउन सक्ने बताए ।

उनले भने, ‘अहिले निलो क्रान्ति निकै चर्चामा छ । निलो क्रान्ति भनेको तरुण दलको झण्डा र पोशाकमा छ ।’

‘वीपीबाट भ्रष्टाचारको विरुद्धमा गाउँगाउँमा त्यो अभियान चलाउनको लागि निलो क्रान्ति २०१० सालमा स्थापना भएको थियो’, अध्यक्ष गुरुङले भने ।

‘आजको पोखराको निलो क्रान्ति भ्रष्टाचारीहरूको पक्षमा जुन निलो क्रान्ति शुरु भएको छ त्यसले कता कता हामीलाई पनि आज हाम्रो मनहरू निलो क्रान्ति, निलो नामको शब्दमा मन कुडिन पुगेको छ’, उनले भने ।

अध्यक्ष गुरुङले भने, ‘नेपाली तरुण दल नेपाली कांग्रेसको अत्यन्तै महत्वपूर्ण भ्रातृ संगठन हो । तरुण दल कांग्रेसको मेरुदण्ड हो ।’

‘तरुण दल कांग्रेसको साथी संगठन पनि हो । अहिलेको यो विषम परिस्थितिमा नेपाली कांग्रेसका हाम्रा नेताहरूमा यस्ता मुद्दाहरू लाग्दा नेपालको इतिहाँसमा कहिल्यै पनि नेपाली कांग्रेस, नेपालका राष्ट्रिय पार्टीहरू, त्यसका भ्रातृ संगठनले भ्रष्टाचारको पक्षमा, हाम्रो नेताको पक्षमा कहिल्यै पनि हामीले सडकमा आन्दोलन गरेनौँ’, उनले भने ।

‘आज जुन विकृति र विसंगति सडकमा देखिएको छ, हाम्रोसामु बाढीपहिरोले क्षति गरेको बेलामा हामी धेरै क्रान्तिकारी कुरा गर्न चाहन्नौं’, उनले भने, ‘यो विकृतिको विरुद्धमा खबरदारी गर्न केही समयभित्र सहकारीपीडितहरूको पक्षमा सडकमा र सहकारी ठगहरूको विरुद्धमा तरुण दल सडकमा आउने पनि छ ।’

तरुण अध्यक्ष गुरुङले तिहारपछि बाढी र पहिरोले धेरै क्षति गरेका जिल्लामा टहराहरू निर्माण गरेर पीडामा रहेका जनतालाई हस्तान्तरण गर्ने बताए । उनले दुःखमा तरुण दल जहिले पनि जनताको साथमा रहने बताए ।

‘तिहार लगत्तै सबैभन्दा धेरै क्षति भएको काभ्रे जिल्ला, ललितपुरमा हामी सयदेखि २ सय वटा अस्थायी टहरा नेपाल तरुण दलले बनाउनेछ । पीडितहरूलाई लाभको व्यवस्था गर्नेछौँ’, उनले भने, ‘जनताको दुःखको बेला तरुण दल साथमा हुनेछ ।’

Published : Saturday, 2024 October 26, 8:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया