कांग्रेसका क्रियाशील सदस्यहरूले आफ्नै श्रीमतीको भोट पनि रुखमा हाल्न सकेनन् : गोविन्द भट्टराई

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले सामाजिक सञ्जालको प्रयोगले राजनीति प्रभावित पारिरहे पनि तरुणहरू त्यसप्रति अभ्यस्त नभएको बताएका छन् ।

शनिबार तनहुँको दमौलीमा नेपाल तरुण दल जिल्ला कार्य समितिले आयोजना गरेको कार्यक्रममा भट्टराईले भने, हामीले आफ्नाले गरेको राम्रो कामको पनि प्रचार गर्न सकेनौं । अरुले गर्नै नसक्ने कुराको प्रचार गरेर चुनाव जिते ।’

सामाजिक सञ्जालको प्रयोग सही ढंगबाट गर्न तरुणहरू चुक्नुको परिणाम कतिपय ठाउँमा कांग्रेसले चुनावी हार भोग्नुपरेको नेता भट्टराईले बताएका छन् ।

उनले भने, ‘किन नेतृत्वको राम्रो प्रचार नगर्ने ? पार्टीको पक्षमा स्टाटस लेख्न हामीलाई किन गाह्रो छ ?’

वीपी कोइरालाको निर्देशनमा २०१० कार्तिक १० गते स्थापना भएको तरुण दलप्रति वीपी कोइरालाको ठूलो भरोसा पनि रहेको बताए ।

अहिले तरण दलले सोँचेजस्तो काम गर्न नसकेको कांग्रेस नेता भट्टराईले बताएका छन् ।

‘दोस्रो महासचिव थिएँ म’, भट्टराईले भने, ‘राम्रोसँग सञ्चालन गर्न पाएको भए वैचारिक संगठनको रुपमा रुपान्तरण गर्न सकिन्थ्यो कि भन्ने लागेको थियो ।’

‘आज हाम्रो संगठनको अवस्था देख्दा केही नपुगेको जस्तो लागेको छ’, तरुण दलका पूर्वमहासचिव समेत रहेका नेता भट्टराईले भने ।

कांग्रेस नेता भट्टराईले विकासको कामले मात्र चुनाव जित्ने अवस्था नभएको बताए । उनले कांग्रेसमा क्रियाशील सदस्यले परिवारको समेत मत तान्न नसकेको बताए ।

क्रियाशील भनेको सधैं सक्रिय हुनुपर्ने भए पनि त्यसो हुन नसकेको भट्टराईले बताएका छन् ।

‘व्यास नगरपालिकामा क्रियाशीलले ३ भोट पनि तान्न सकेनन्’, उनले भने, ‘घण्टीको असर परेको देवघाटले तानेको जति भोट यहाँ किन तान्न सकिएन ? क्रियाशीलले श्रीमतीको भोट पनि किन पार्टीमा तान्न सकेनौं, समीक्षा हुनुपर्छ ।’

कांग्रेसका केन्द्रीय सदस्य भट्टराईले विपक्षीका गलत कामको प्रतिवाद हुन नसक्दा कांग्रेसले गरेका काम ओझेलमा परेको बताए ।

‘कोही सानो देशको अन्डरमा बस्नुपर्छ भन्छन् भुटानको स्टाटसमा राख्नुपर्छ भन्छन्’, उनले भने, ‘त्यसको प्रतिकार हामी गर्दैनौं ।’

Published : Saturday, 2024 October 26, 10:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया