गणेशमान सिंह राष्ट्रिय टेनिसमा सुनीरा र ऋतिक च्याम्पियन

ललितपुर । चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा सुनीरा थापा र ऋतिक राना च्याम्पियन भएका छन् ।

शनिबार ललितपुरको सातदोबाटोमा गणेशमान सिंह फाउन्डेसनको आयोजनामा भएको प्रतियोगितामा सुनीरा महिला र ऋतिक पुरुष सिंगल्समा च्याम्पियन भएकाहुन् । उनीहरूले एक/एक लाख रुपियाँ नगद पुरस्कार पाएका छन् ।

महिला फाइनलमा सुनीराले अभिलाषा विष्टलाई ६–४, ७–५ को सेटमा हराइन् । प्राज्ना मानन्धर र स्वस्तिका विष्ट तेस्रो भए । पुरुष फाइनलमा ऋतिकले राजवीर प्रधानलाई ६–१, ६–३ ले हराए । प्रणव मानन्धर र आयुषमान घले संयुक्त रूपमा तेस्रो भए ।

दुवै विधाका उपविजेताले ५० हजार र तेस्रो हुनले समान १२ हजार ५ सय रुपियाँ पुरस्कार पाए ।

पुरुष ४५ वर्षमाथि सिंगल्समा कमलबहादुर भण्डारी च्याम्पियन भए । कमलले फाइनलमा छेवाङ लामामाथि ६–१, ६–२ को जित रचे । च्याम्पियन कमलले ३७ हजार ५ सय र छेवाङले १८ हजार ७ सय ५० रुपियाँ पुरस्कार प्राप्त गरेका छन् ।

सोही उमेर समूहमा सुकमान तामाङ र महेश श्रेष्ठ तेस्रो भए । यी दुईले ३ हजार १२५ रुपियाँ प्राप्त गरेका छन् ।

पुरुष डबल्समा आयुष्मान र प्रदीप खड्काको जोडीले सफलता पाए । महिला डबल्समा भने खेलाडी संख्या नपुगेपछि प्रतिस्पर्धा रद्द गरिएको आयोजकले जनाएको छ ।

नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगिताको सिनियर, भेट्रान र जुनियरमा गरी २२ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । पुरुषमा ३५ वर्षमाथि सिंगल्समा सन्तोष खत्री र डबल्समा सन्तोष खत्री र सुवास बस्नेतको जोडी, ५५ वर्षमाथि सिंगल्समा कमल थापा र डबल्समा उत्तम शेर्पा र चन्द्र शाहीको जोडी, ६५ वर्षमाथि सिगंल्समा कमल थापा र डबल्समा विदुर विष्ट र भिक्टर राणाको जोडी विजयी भएको थियो ।

सबै विधाका शीर्ष तीन स्थानका विजेता खेलाडीले नगद पुरस्कार पाएका थिए । विजेतालाई उपप्रधानमन्त्री प्रकाशमान सिंह, गणेशमान सिंह फाउन्डेसनका सदस्य तथा प्रतियोगिता संयोजक भाष्करमान सिंह र नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणालगायतले पुरस्कृत गरेका छन् ।

Published : Saturday, 2024 October 26, 10:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया