राज्यको प्राथमिकतामा नपर्दा पनि खेलकुदले धेरै फड्को मारिसकेको छ : मोहन बस्नेत

चौतारा । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले राज्यको प्राथमिकतमा खेलकुद नपर्दा पनि खेलाडीहरूको जीवनमा केही सुधार भएको बताएका छन् ।

गृहजिल्ला सिन्धुपाल्चोकमा शनिबार आयोजित कार्यक्रममा पूर्वमन्त्री समेत रहेका बस्नेतले भने, ‘राज्यले खेलकुदको क्षेत्रमा धेरै काम गर्न बाँकी छ । आजसम्म पनि प्राथमिकतामा अझै परेको छैन ।’

‘यति हुँदा हुँदै पनि खेलकुदले धेरै फड्को मारिसकेको छ । यो पुरस्कार, त्यो पुरस्कार, त्यो भन्दाभन्दै पनि अहिले धेरै खेलाडीहरूले आफ्नो जीवनलाई अलिक सहज रुपमा प्रस्तुत भएर अगाडि बढ्न सकेका छन्’, नेता बस्नेतले भने ।

बस्नेतले भने, ‘संसारको इतिहाँस र खेलकुदको इतिहाँसलाई हेर्ने हो भने र धनाढ्यहरूको इतिहाँसलाई हेर्ने हो भने संसारमा खेलाडीहरू कति धनी छन् अर्बमा होइन, खर्बमा खेलाडीहरू धनी छन् ।’

नेता बस्नेतले भने, ‘हामीले पनि खेल क्षेत्रमा केही लगानी गरेर भविष्यका कर्णधारहरूलाई केही गर्न सकियो भने खेल क्षेत्रको भविष्य छ । सरकारले पनि सहयोग गर्नुपर्छ । स्थानीय, प्रदेश र संघीय सरकारले खेल क्षेत्रमा लगानी अनिवार्य रुपमा गर्नुपर्छ ।’

नेता बस्नेत मेलचौर युवा जागरण क्लबद्वारा आयोजित चौथो मालिकादेवी कप फुटबल कार्यक्रमको समापन समारोहमा प्रमुख अथितिका रुपमा सहभागी भइ विजेता खेलाडी र टिमलाई पुरस्कार समेत वितरण गरेका छन् ।

Published : Sunday, 2024 October 27, 10:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया