महिला फुटबलमा नेपालसँग भारत पराजित

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

आइतबार राति त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सेमिफाइनल खेलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा पराजित गरेका छ । नेपालले भारतलाई ४–२ ले पराजित गरेको छ ।

निर्धारित समयमा दुवै टोलीको १÷१ गोल भएको थियो । फाइनलमा नेपालले बंगलादेशसँग खेल्नेछ ।

नेपाल र भारतले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । निर्धारित ४५ मिनेट तथा अतिरिक्त तीन मिनेटको समयमा पनि नेपाल र भारतले गोल गर्न सकेनन् ।

पहिलो हाफमा भारतले नेपालमाथि दबाब बनाइराख्दा नेपाल गोल गर्नबाट चुक्यो । नेपाल र भारत दुवैले केही उत्कृष्ट अवसर प्राप्त गरेपनि गोल गर्न भने सकेनन् ।

मध्यान्तरपछिको खेलमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाएपछि मैदान छोड्नु परेको छ । खेलको ५१औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि उनले मैदान छोड्नु परेको थियो ।

नेपाल १० खेलाडीमा सीमित बन्यो । रेखाले रातो कार्ड पाएपछि नेपाली दर्शकहरूले केहीबेर नाराबाजी गरेका थिए । दोस्रो हाफमा भारतकी संगीता बास्फोरले उत्कृष्ट गोल गर्दै अग्रता लिइन् । भारतले गोलको खुसी मनाइरहेको अवस्थामा नेपालले लगत्तै गोल गरेको थियो । रेफ्रीले उक्त गोललाई मान्यता दिएनन् । तनावका कारण खेल लामो समयसम्म खेल रोकिएको थियो ।

खेल पुनः सुरु भए लगत्तै नेपालकी सावित्रा भण्डारी ‘साम्बा’ले गोल गर्दै खेललाई १÷१ बराबरी गरेकी थिइन् । त्यसपछि गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा नेपालले ४ तथा भारतले २ वटा मात्र गोल गर्न सक्यो ।

दशरथ रंगशालामा आइतबार दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा बंगलादेशले भुटानलाई ७–१ गोलअन्तरले पराजित गर्दै फाइनलका लागि स्थान बनाएको छ ।

Published : Sunday, 2024 October 27, 10:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया