प्रभावकारी फौजदारी न्याय प्रणालीको विकासको आवश्यकता छ : प्रधान न्यायाधीश राउत

काठमाडौं । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा प्रकाशित नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको संग्रह भाग–२ विमोचन गरेका छन् ।

आइतबार नक्सालमा आयोजित कार्यक्रममा प्रधान न्यायाधीश राउतले कानूनको शासनको प्रवर्द्धन गर्दै न्यायपूर्ण समाजको स्थापना गर्ने कार्यमा न्यायपालिका, महान्यायाधिवक्ताको कार्यालय एवम् नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहने बताए ।

उनले तीन वटै निकायको संलग्नतामा हुन लागेको यस गोष्ठी एवम् अन्तरक्रियाले सम्बद्ध फौजदारी न्याय प्रशासनको प्रवर्द्धन एवम् सुदृढीकरणमा समेत थप योगदान पुर्‍याउँदै मुलुकमा दण्डहीनताको अवस्थाको अन्त्य गर्ने कार्यमा समेत थप मद्दत पुग्ने बताए ।

प्रधान न्यायाधीश राउतले फौजदारी न्याय प्रणालीको प्रभावकारिताको लागि न्यायिक इतिहासको विभिन्न कालखण्डमा भएका प्रयास र अनुभवका साथै संवैधानिक कानूनी परिवर्तन एवम् जनअपेक्षा अनुरूपको सुदृढ र प्रभावकारी फौजदारी न्याय प्रणालीको विकास र स्थापना गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरेका छन् ।

फौजदारी न्यायका परम्परागत मान्यता अवधारणा र मापदण्डबाट माथि उठेर अपराध अनुसन्धानमा नवीन शैलीको विकास गर्दै अनुसन्धान र अभियोजनको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा विकसित, स्वीकृत र अवलम्बित मान्यता र मापदण्डको अनुशरण गरिनु जरूरी रहेको बताए ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले फौजदारी न्याय प्रणालीको प्रभावकारिता अभिवृद्धि गर्न, यसका चुनौति र समाधानका उपायहरू पहिल्याउने उद्देश्यका साथ आयोजित गोष्ठीले फौजदारी न्याय प्रणालीका सबै महत्वपूर्ण स्तम्भहरूलाई एक साथ राखेर छलफल र अन्तरक्रियाले साझा धारणाको विकास गर्ने अपेक्षा लिएको बताए ।

गोष्ठीले फौजदारी न्याय प्रणालीलाई अझ सुदृढ बनाउने उनले बताए । अनुसन्धानकर्ता, अभियोजनकर्ता र न्याय निरूपणकर्ता बिचको व्यावसायिक समन्वयात्मक सम्बन्धले अनुसन्धान, अभियोजन र न्याय निरूपण कार्य त्रुटिरहित र प्रभावकारी भई न्यायको अनुभूतिसँगै कानूनी शासनको प्रत्याभूति समेत सुनिश्चितता हुने कुँवरले बताए ।

Published : Monday, 2024 October 28, 12:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया