रविले उत्पात मच्चाइरहेका बेला सहकारी ठगी प्रकरणमा एमालेका प्रदेश सांसदका छोरा पक्राउ

दमक । कोशी प्रदेशमा एमालेका प्रदेशसभा सदस्य राधाकृष्ण खनालका छोरा सुमन खनाल सहकारी ठगीको आरोपमा पक्राउ परेका छन् ।

सहकारीको रकम ठगीमा संलग्न भएको भन्दै प्रहरीले झापाको शिवसताक्षी नगरपालिका–३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खनाललाई पक्राउ गरेको जनाएको छ । राधाकृष्ण खनाल एमालेबाट झापा क्षेत्र नम्बर ४ (१)बाट निर्वाचित भएका हुन् ।

पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अदालतको आदेशमा संगठित अपराध र सहकारी ठगीको अनुसन्धानका लागि पक्राउ परेका छन् । पक्राउ परेपछि अनुसन्धान र न्यायालयलाई प्रभावित तुल्याउने गरेर अभिव्यक्ति दिनेदेखि सडक आन्दोलन गराइरहेका छन् । उता, एमालेकै प्रदेश सांसदका छोरा सहकारी ठगीमा पक्राउ पर्दा एमाले चुप लागेर अनुसन्धानलाई सहयोग गरेको छ ।

सहकारीमा बचतकर्ता र शेयर सदस्यको झन्डै डेढ करोड रुपियाँ अनियमितता भएको छ । संस्थाका अध्यक्ष खनालले आफूखुसी सहकारीको १ करोड ३८ लाख ३६ हजार ७७० रुपियाँ ठगी गरेको देखिएको छ ।

प्रहरीले संस्थापक अध्यक्ष खनाललाई कात्तिक ५ गते घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डीएसपी) कृष्णकुमार चन्दले बताएका छन् ।

खनाललाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको छ । खनाललाई अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक चन्दले बताएका छन् ।

सहकारीको स्थापना कालदेखिकै अध्यक्ष रहेका खनालले आर्थिक वर्ष २०७८/०७९ मा ७० हजार शेयर रकम हिनामिना गरेको शिवसत्ताक्षी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष भाष्कर न्यौपानेको नेतृत्वमा गठित समितिको प्रतिवेदनमा उल्लेख छ ।

Published : Monday, 2024 October 28, 9:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया