लुम्बिनी प्रदेश सरकारद्वारा जग्गा एकीकरण आयोजनाको अध्यक्षमा भालुबाङका सुनिल बस्नेतलाई नियुक्त
मसुरिया । लुम्बिनी प्रदेश सरकारले सुशीलकुमार बस्नेत ‘सुनिल’लाई जग्गा एकीकरण आयोजनाको अध्यक्ष पदमा नियुक्त गरेको छ ।
सोमबार बस्नेतलाई आयोजनाको अध्यक्षमा नियुक्त गरिएको हो । शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले अध्यक्षमा नियुक्त बस्नेतलाई कार्यकालको शुभकामना दिएका छन् । राणाले तोकिएको जिम्मेवारीअनुसार कार्यसम्पादन गर्न अध्यक्ष बस्नेतलाई निर्देशन समेत दिएको निजी सचिवालयले जनाएको छ ।
अध्यक्षमा नियुक्त भएका बस्नेत राप्ती गाउँपालिकाको वडा नं. १ भालुबाङ निवासी हुन् । नेपाल तरुण दलको केन्द्रीय सदस्य समेत रहेका बस्नेत स्वर्गद्वारी गौमुखी यातायात प्रालिका निवर्तमान अध्यक्ष हुन् ।
लुम्बिनी प्रदेशको राजधानीका लागि दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा गाउँपालिकाका वडाहरूलाई समेत जग्गा एकीकरण आयोजना निर्माण गरिएको थियो । आयोजनाले जग्गा एकीकरणका लागि काम गर्दै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया