सर्वोच्च अदालतमा मुद्धा जिताइदिन्छु भनेर १ करोड २८ लाख खाएर भागेका महर्जन पक्राउ

काठमाडौं । सर्वोच्च अदालतमा मुद्धा जिताइदिन्छु भनेर ठगी गर्ने कार्यमा संलग्न ४५ को रबिन्द्र महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले महर्जनलाई पक्राउ गरेको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

ललितपुर महानगरपालिका वडा नं. १८ भैंसेपाटी बस्ने महर्जनले जाहेरवालासंग भेटघाट गरी काठमाडौं–निजगढ (फास्टट्रयाक) द्रुत मार्ग टेण्डरमा सहभागी हुने क्रममा भएको निर्णयउपर उच्च अदालतमा बिचाराधीन रहेको मुद्धा जिताई दिन्छु भनि रकम माग गरेको प्रहरीले जनाएकाे छ ।

रकम नदिएमा मुद्धा हराइदिने धम्की महर्जनले दिएका थिए । नगद तथा कनेक्ट आइपीएस मार्फत विभिन्न मितिमा एक करोड अठ्ठाईस लाख रकम बुझेर महर्जन फरार भएका थिए ।

कात्तिक ६ गते काठमाडौं जिल्ला अदालतबाट महर्जनविरुद्ध पक्राउ अनुमति जारी भएपछि अपराध कार्यालयले पक्राउ गरेको थियो ।

महर्जनलाई खोजतलास गर्ने क्रममा प्रहरी टोलीले कात्तिक १२ गते दिउँसो १ बजेको बुद्धनगरबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

महर्जनको ठगी धन्दा पछिल्लो समय धेरै मौलाएको थियो । महर्जनबाट पीडित बनेकाहरूले अब न्याय पाउने सम्भावना बढेको छ । महर्जनले विभिन्न उच्च पदस्थ व्यक्तिहरूको नाम लिएर ठगी धन्दा चलाउने गरेको आरोप छ ।

महर्जनलाई अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको छ ।

Published : Monday, 2024 October 28, 6:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया