अनलाइन र युट्युबहरू स्वार्थ समूहको प्रयोग हुनबाट ख्याल गर्नुपर्छ : अध्यक्ष बस्नेत
काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अराजकतालाई मलजल गर्ने मिडियालाई कारवाही गर्ने बताएका छन् ।
मंगलबार काउन्सिलमा आयोजित कार्यक्रममा बस्नेतले सामाजिक सदभाव बिथोल्ने, जातीय विद्वेश फैलाउने गरी जानीजानी गलत सूचना सम्प्रेषण गर्ने केही मिडियालाई कानूनी कारवाही गरिएको बताए ।
‘समाजमा अन्योल सृजना गरी प्रणालीमाथि धावा बोल्ने काम कहीँ कतैबाट भइरहेको हुन सक्छ’, उनले भने, ‘त्यस्ता गलत पात्र र प्रवृत्तिबाट मिडिया हमेशा जोगिनुपर्छ ।’
अध्यक्ष बस्नेतले भने, ‘काउन्सिलले केही मिडियालाई कारवाही गरिसकेको छ । बाँकी पनि छानविन र कारवाहीको दायरामा आउनेछन् ।’
उनले पत्रकार आचारसंहिता उल्लंघन गर्नु प्रेस स्वतन्त्रताको दुरुपयोग हुने भएकाले जिम्मेवारीपूर्ण ढंगले पत्रकारिता गर्न सबैलाई आग्रह गरेका छन् ।
‘केही मिडियाबाट एकपक्षीय भनाइ, पूर्वाग्रही अभिव्यक्ति, तथ्यहीन आरोप सुनियोजित ढङ्गले आइरहेका छन्’, बस्नेतले भने, ‘समाज बिथोल्न सकिन्छ कि भनेर त्यसरी आइरहेका सामग्रीप्रति काउन्सिल सचेत छ र आवश्यक कानूनी कारवाही भइरहेको छ ।’
प्रेस काउन्सिलले २ साताअघि मात्रै पत्रकारिताको आवरणमा गलत काम गर्ने ४३ वटा युट्युब माध्यमलाई कानूनी कारवाहीका लागि नेपाल प्रहरीको साइबरव्यूरो पठाएको थियो । केही सञ्चारमाध्यमलाई कालोसूचीमा राखी थप कारवाही बढाइरहेको छ ।
अध्यक्ष बस्नेतले डिजिटल दुनियाँमा अहिले फस्टाइरहेका अनलाइन र युट्युब सञ्चार माध्यमहरू कुनै स्वार्थ समूहबाट प्रयोग हुनबाट हमेशा ख्याल गर्नुपर्ने बताएका छन् ।
‘पत्रकारिताका आफ्नै मूल्य, मान्यता र सिद्धान्त छन्’, उनले भने, ‘विश्वव्यापी मान्यता बोकेका आचारसंहिता छन् । तिनलाई कुल्चेर मनलाग्दी सुचना सम्प्रेषण गर्नु पत्रकारिता क्षेत्रको बद्नामी मात्र होइन समाज भड्काउनु समेत हो ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया