तरुण दलले निर्देशन समितिलाई संशोधित विधानको मस्यौदा बुझायो
काठमाडौं । नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समितिलाई नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले संशोधित विधानको मस्यौदा बुझाएका छन् ।
मंगलबार वीपीनगर, ललितपुरस्थित नेपाली कांग्रेस केन्द्रीयको कार्यालयमा बसेको समितिको बैठकमा तरुण अध्यक्ष गुरुङले नेपाली कांग्रेसकी सहमहामन्त्री समेत रहेकी नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समितिकी संयोजक महालक्ष्मी उपाध्याय ‘डीना’लाई मस्यौदा बुझाएका हुन् ।
तरुण दलबाट प्राप्त मस्यौदामा समितिमा छलफल हुनेछ । त्यसपछि समितिले तरुण दलको महाधिवेशनका लागि आवश्यक निर्देशनहरू दिने संयोजक उपाध्यायले बताएकी छिन् ।
उपाध्यायले भनिन्, ‘हामीले तरुण दलको गतिविधिका बारेमा छलफल गरेका छौँ । उहाँहरूले विधान तयार गर्दै हुनुहुन्छ । विधान प्राप्त भएको छ । यो विधानमा केही दिन छलफल गर्छौं ।’
‘तुरुन्तै हामी तरुण दलको कार्यसमितिसँग छलफल गर्ने छौँ । महाधिवेशनका विषयमा पनि छलफल हुन्छ । पार्टीको नेतृत्वसँग पनि विधानमा छलफल गर्छौ । विधानलाई संशोधन गर्नुपर्छ की पर्दैन भनेर छलफल गर्छौं । शीर्ष नेताहरूसँग तरुण दलको विधानमा छलफल गर्ने भनेका छौँ ।’
‘तरुण दलमा अधिवेशन गराउन समस्या छैन । सहजता महशुस गरेको छु । केही जिल्ला खाली भएको छ । ती जिल्लामा पनि अधिवेशनको तयारी समिति कसरी ? कुन विधिमा रहेर बनाउने भन्नेमा पनि हामी छलफल गर्ने छौँ’, संयोजक एवम् सह–महामन्त्री उपाध्यायले भनेकी छिन् ।
निर्देशन समितिको सदस्यहरूमा कांग्रेसका केन्द्रीय सदस्यद्वय सरिता प्रसाइँ र जीतजंग बस्नेत रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया