नेपालले महिला साफ च्याम्पियनसिपको उपाधि गुमायो

काठमाडौं । वुमेन्स साफ च्याम्पियनसिपको उपाधि डिफेन्डिङ च्याम्पियन बंगलादेशले नेपाललाई पराजित गर्दै जितेको छ ।

बुधबार राति दशरथ रंगशालामा भएको खेलमा बंगलादेशसँग नेपाल २–१ ले पराजित भएको छ ।
नेपालले साफ च्याम्पियनसिपको फाइनलमै पराजित भएको यो छैटौं पल्ट हो ।

रितुले नेपाली पोस्टको ठीक बाहिरबाट गरेको उत्कृष्ट प्रहार सुन्दर गोलमा परिणत भएको थियो । पूरा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी रितुले त्यस्तै खेल फाइनलमा पनि दोहो¥याइन् ।

पहिलो हाफको गोलरहित बराबरीपछि खेलले गति लिएको थियो । खेलको पहिलो गोल बंगलादेशले निकालेको थियो । नेपाली डिफेन्सको कमजोरीको फाइदा उठाउँदै ५२ औं मिनेटमा मोनिका चक्माले गोल गरिन् ।

नेपालले ५६ औं मिनेटमा बराबरी गोल फर्कायो । प्रिती राईको थ्रु पासमा अमिशाले बंगलादेशी गोलरक्षकलाई कुनै अवसर नदिई गोल गरिन् ।

पहिलो हाफमा बंगलादेशले सुरुमै मौका पाएको थियो । नेपाली डिफेन्डर गीता राना चिप्लिएको स्थितिमा सिर्जना भएको अवसरमा सविता खातुनको पोस्टमा लागेको थियो ।

खेलको दसौं मिनेटमा नेपाल त्यस्तै स्थितिबाट गुज्रियो । सावित्रा भण्डारीको पासलाई नियन्त्रण लिएर अमिशाले गरेको प्रहार पोस्टमा ठोकिएको थियो ।

नेपाल अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनलमा पराजित भएको यो १२ औं पल्ट हो । हारसँगै नेपालको पहिलोपल्ट उपाधि जित्ने सपना अधूरै रह्यो । बंगलादेशले सन् २०२२ को उपाधि दशरथ रंगशालामै जितेको थियो ।

Published : Wednesday, 2024 October 30, 9:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया