म जुन कुलमा जन्मिए पनि मगरहरूको संस्कृति बचाउन सहयोग गर्छु : सभापति खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ओखलढुङ्गा जिल्लाका मगरहरूले नेपालको शासन बनाएको बताएका छन् ।
तिहारको अवसरमा नेपाल मगर संघ काठमाडौं–ओखलढुङ्गा संघले बिहीबार काठमाडौंको अनामनगरमा आयोजना गरेको देउसी कार्यक्रममा सभापति खतिवडाले मगरहरूको संस्कृतिले देशभरि ओखलढुङ्गालाई चिनाएको बताए ।
उनले भने, ‘हामीलाई शिद्धिचरणले चिनाएको ओखलढुङ्गा । व्याकुल माइलाले चिनाएको ओखलढुङ्गालाई मगरले देशव्यापी रुपमा चिनाएका छन् ।’
‘आफ्नो संस्कृति र संस्कार बचाउनको लागि तपाईहरू लाग्नु होस् म जुन कुलमा जन्मिए पनि, जुन धर्ममा जन्मिए पनि, जुन वर्गमा जन्मिए पनि म तपाईहरूलाई बाँचुञ्जेल सहयोग गर्छु’, सभापति खतिवडाले भने ।
सभापति खतिवडाले लखन थापा नेपालको पहिलो शहीद रहेको भन्दै उनी मगर समुदायको मात्रै शहीद नभएको बताए ।
‘नेपालको पहिलो शहीद लखन थापा नेपालको शहीद हो । मगर समुदायको मात्रै होइन’, उनले भने, ‘लखन थापाको शालिक देशका अरु शहीद राखेको ठाउँमा प्रतिमा राख्नुपर्छ । यो आवाज उठाउँछु ।’
सभापति खतिवडाले भने, ‘पर्वलाई यसै गरेर मनाउनुपर्छ भन्ने होइन । आफूलाई जसरी मनाउन मन लाग्छ त्यसै गरी मनाउने हो । आफ्नो संस्कृतिअनुसार पर्व मनाउने व्यवस्था हामीले गरेका छौँ । संविधानमा उल्लेख गरेका छौँ ।’
मगर संघले संग्रहालय बनाउँदा आफूले सहयोग गर्ने उनले प्रतिवद्धता जनाएका छन् । खतिवडाले संग्रहालय बनाउँदा आर्थिक सहयोग गर्ने बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया