डीआईजी देउती गुरुङद्वारा कुकुरको पूजा, उत्कृष्ट कुकुरलाई पुरस्कार प्रदान
काठमाडौं । यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहारका अवसरमा नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजमा कुकुर पूजा सम्पन्न भएको छ ।
बिहीबार सम्पन्न कार्यक्रममा नेपाल प्रहरी केनाईन कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डा. देउती गुरूङले प्रहरी कुकुरको प्रतिमामा माल्यार्पण गर्नुका साथै कार्यालयमा रहेका विभिन्न जातका कुकुरहरूलाई पूजा गरेकी छिन् ।
उनले अपराध अनुसन्धान तथा खोज कार्यमा यस वर्ष उत्कृष्ट कार्य गर्ने तथा रनिङ प्रतियोगितातर्फ उत्कृष्ट हुने कुकुर ‘टाइगर’, बाधापारतर्फ उत्कृष्ट हुने ‘रोय’ र हाईजम्प प्रदर्शनमा उत्कृष्ट हुने कुकुर ‘रोज’लाई पुरस्कार प्रदान गरेकी छिन् ।
प्रहरी नायव महानिरीक्षक गुरूङले नेपाल प्रहरीको केनाईन सेवाको शुरूवात, विकास तथा विस्तारमा योगदान पु¥याउने अवकाश प्राप्त प्रहरी उपरीक्षक प्रतापकुमार वान्तवा र अवकाश प्राप्त प्रहरी नायव उपरीक्षक स्व. दण्डपाणि भट्टराईको सुपुत्र अमित भट्टराईलाई सम्मानपत्र प्रदान गरेकी छिन् ।
यस वर्ष उत्कृष्ट कार्य गर्ने सोही कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई समेत गुरुङले पुरस्कार प्रदान गरेकी छिन् ।
कार्यालयका प्रहरी कर्मचारीहरू र प्रहरी कुकुरहरूले हातहतियार तथा विष्फोटक पदार्थको खोजी तथा पहिचान, लागूऔषधको खोजी तथा पहिचान, अपराधीको खोजी एवं पहिचान, हाइजम्प प्रतियोगिता, दौड प्रतियोगिता, आज्ञापालन तथा व्यक्तिगत सुरक्षा कला, बाधापार र खोजी तथा उद्दार कार्य लगायतको प्रदर्शनी गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया