स्थानीय तह उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन शर्मा नेतृत्वको समितिले दियाे नेताहरूलाई जिम्मेवारी
काठमाडौं । नेपाली कांग्रेसको ‘स्थानीय तह उपनिर्वाचन—०८१ केन्द्रीय संयोजन समिति’ले मंसिर १६ हुन लागेको स्थानीय तहका विभिन्न पदहरूका लागि हुन लागेको उपनिर्वाचनको तयारी सम्बन्धमा छलफल र परामर्श गरेको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय ललितपुरमा महामन्त्री विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको ‘स्थानीय तह उपनिर्वाचन—०८१ केन्द्रीय संयोजन समिति’को बैठकले उप–निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक, समन्वय र सहजीकरण गर्न नेताहरूलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
समितिले महालक्ष्मी उपाध्याय ‘डिना’लाई बागमती प्रदेश, भीष्मराज आङ्दम्बेलाई कोशी प्रदेश, महेन्द्र यादवलाई मधेश प्रदेश, जीवन परियारलाई कर्णाली प्रदेश एवं गण्डकी प्रदेश, डा. प्रकाशशरण महतलाई अन्तर पार्टी समन्वय, एन.पी.साउँदलाई सुदूरपश्चिम प्रदेश, पुष्पा भुसाललाई लुम्बिनी प्रदेश एवं निर्वाचन आयोग समन्वयको जिम्मेवारी दिएको छ ।
समितिले मीन विश्वकर्मालाई प्रचार प्रसार संयोजन, मधु आचार्यलाई स्थानीय तह समन्वय र नानु बाँस्तोलालाई सचिवालय व्यवस्थापनको जिम्मेवारी समितिले दिएको छ ।
बैठकले उप–निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन सम्पूर्ण एकता, सालिनता र सकृयताका साथ अघि बढ्ने निर्णय पनि गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकमा महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियार, डा.प्रकाशशरण महत, पुष्पा भुसाल, मीन विश्वकर्मा र मधु आचार्यले आफ्नो धारणा राखेको विज्ञप्तिमा समितिले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया