उडानहरू कटौती हुँदा टिकटको मूल्य बढ्यो, वैदेशिक रोजगारीमा जाने यात्रुलाई ठूलो समस्या

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि भन्दै आन्तरिकतर्फ झन्डै ३० प्रतिशत उडान कटौती गरेको छ ।

प्राधिकरणले अन्तर्राष्ट्रियतर्फ ३५ प्रतिशतसम्म कटौती गरेको छ । त्यसको असर यात्रुलाई परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गतिलो काम गर्न नसक्दा टिकटमा यात्रुले दुःख पाएका हुन् । मन्त्री पाण्डे र महानिर्देशक अधिकारीको असक्षमताको शिकाश यात्रु बनेका छन् ।

अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको टिकटको मुख्य पाँच गुणासम्म बढेको छ । सामान्य अवस्थामा काठमाडौं–दिल्लीको भाडा १० देखि १२ हजारसम्म हुने गरेकोमा अहिले ५० देखि ६० हजार पुगेपछि वैदेशिक रोजगारीका लागि जाने श्रमिकसहितका यात्रुहरू मारमा परेका छन् ।

अन्तर्राष्ट्रिय उडानको भाडामा अस्वाभाविक वृद्धिपछि सरोकारवालाहरूले सरकारका मन्त्रीहरूलाई भेटेर ज्ञापन पत्र नै बुझाएका छन् ।

शुक्रबार परराष्ट्रमन्त्री डा.आरजु देउवा, श्रममन्त्री शरतसिंह यादव र पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई भाडा घटाउन र समस्या समाधान गर्न आवश्यक प्रक्रिया सुरु गर्ने आश्वासन दिएर फर्काइ दिएका छन् ।

आन्तरिकतर्फ धेरै उडान गर्ने बुद्धका १६, यतीका १७ र श्री एयरलाइन्सका दैनिक ५ वटा उडान कटौती भएका छन् ।

आन्तरिकतर्फ अहिले नै टिकटको मूल्य नबढे पनि मागअनुसार आपूर्ति नभए मूल्य बढ्ने वायुसेवा कम्पनीहरू बताउँछन् ।

केही कम्पनीले शुक्रबारदेखि नै राजधानीबाहिर जहाज लगिसकेका छन् । बुद्धले ७ र यती तथा श्री एयरलाइन्सले ४–४ वटा जहाज उपत्यकाबाहिरका विमानस्थलमा लगेर राखेका छन् ।

प्राधिकरणले शुक्रबार रातिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द गर्ने भएको छ । विमानस्थल स्तरोन्नति गुरु योजनाअन्तर्गत धावन मार्गसँगै ट्याक्सी वे निर्माण गर्न भन्दै प्राधिकरणले विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द गर्ने भएको हो ।

दैनिक १० घण्टा विमानस्थल बन्द हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडानसमेत कटौती भएका छन् ।

प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवे कै लम्बाई बराबरको ट्याक्सी वे नभएको र रनवे वरपर ७५ मिटरसम्म समथर जमिनसमेत नभएको भन्दै स्तरोन्नति गर्न लागेको छ ।

Published : Friday, 2024 November 8, 9:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया