ठगका अभियुक्त लामिछानेसँग बयान, कारबाहीको माग गर्दै पीडितद्वारा प्रदर्शन
भैरहवा । सहकारीको रकम ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले बयान लिएको छ ।
मंगलबार बिहान पोखराबाट भैरहवा ल्याइएका लामिछानेलाई दिउँसो १ बजेबाट सहकारी ठगी र संगठित अपराधको अनुसन्धानमा बयान लिइएको छ । लामिछानेको बयान नसकिएपछि बुधबार पनि बयान लिइनेछ ।
जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रेमराज पौडेलसहितको टोलीले बयान लिएको छ । लामिछानेलाई मंगलबार २० भन्दा बढी प्रश्न सोधिएको पौडेलले बताएका छन् ।
सहकारी ठगका अभियुक्त लामिछानेले बयानका क्रममा आफूले सहकारीको रकम अपचलन नगरेको र आफ्ना नाममा रकम जम्मा नभएको दाबी गरेको स्रोतले जनाएको छ ।
लामिछानेमाथि बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख ३६ हजार रुपियाँ गोर्खा मिडिया नेटवर्कमा सारेर सहकारी कानूनविपरीत खर्च गरिएको आरोप छ ।
संसदीय समितिको छानबिन प्रतिवेदनमा सुप्रिम सहकारीबाट १ करोड ९६ लाख लामिछानेको नाममा २ करोड ५० लाख, छविलाल जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ ।
लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धान गर्न कास्की प्रहरीले कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।
यसैबीच, भैरहवामा सहकारीपीडितले मंगलबार प्रदर्शन गरेका छन् ।
भैरहवाको बुद्धचोक र सरकारी वकिल कार्यालय नजिकै पीडितले प्रदर्शन गरेका हुन् । उनीहरूले सहकारीमा जम्मा गरेको रकम फिर्ता माग गरेका हुन् ।
सुप्रिम सहकारीपीडित समूहको नाममा भैरहवाको बर्मेली टोल नजिकै जिल्ला अदालत प्रवेशद्वारमा भेला भएका पीडितले ‘सहकारीपीडितलाई न्याय दे’, ‘सहकारी ठग्न पाइँदैन’, ‘सहकारी ठगीको निष्पक्ष छानबीन गर’ लगायत नारा लगाएका छन् ।
प्रदर्शनमा ५० भन्दा धेरै पीडित सहभागी भएका थिए । सहकारीपीडित संघर्ष समितिका अध्यक्ष विजय नेपालले जिल्ला अदालत प्रवेश मार्गदेखि जिल्ला सरकारी वकिल कार्यालयसम्म प्रदर्शन गरिएको जनाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया