सुदूरपश्चिममा सरकारका रणनीतिक योजनामा कांग्रेसले सघाउनु पर्छ : सभापति देउवा
डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेश विकासका लागि सरकारले सुरु गरेका रणनीतिक योजना तत्काल अघि बढाउनु पर्ने बताएका छन् ।
बिहीबार नेपाली कांग्रेस जिल्ला कार्य समिति, डडेल्धुराको बैठकमा सभापति देउवाले पश्चिमसेती जलविद्युत् योजना, डडेल्धुरामा हवाई मैदान, दैजी–लिप्ना–जोगबुडा–चिर्किट्टे–बझाङ जोड्ने सडक, डडेलधुरा मेडिकल कलेज लगायतका योजना अगाडि बढाउन सबैले लाग्नुपर्ने बताए ।
सरकारका रणनीतिक योजनामा कांग्रेसले सघाउनु पर्ने बताउँदै सभापति देउवाले कांग्रेसका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
कञ्चनपुरको दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको कामले पूर्णता पाउने गरी सरकारले काम गरिरहेको पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले बताए ।
डडेल्धुरा कांग्रेसको जिल्ला कार्यसमिति बैठकमा कांग्रेसको सय दिने सङ्कल्प यात्राबारेमा पनि छलफल भएको थियो ।
सङ्कल्प यात्राको उद्देश्यअनुसार काम गर्न जिल्लाका नेता कार्यकर्तालाई सभापति देउवाले निर्देशनसमेत दिएका छन् । कांग्रेसको नेतृत्वमा मुलुकमा लोकतन्त्र आएको स्मरण गराउँदै लोकतन्त्र र संघीयताको रक्षाका लागि कांग्रेस नेता कार्यकर्ताले अहम् भूमिका खेल्नुपर्ने पनि बताएका छन् ।
सभापति देउवा कात्तिक २६ गते गृहजिल्ला डडेलधुरा आइपुगेका हुन् । देउवाले डडेल्धुरामा रहेका विभिन्न देवीदेवताको पूजाआजा समेत गरेका छन् । सभापति देउवा समक्ष डडेल्धुराका स्थानीय तहका जनप्रतिनिधि, कार्यकर्ता एवं विभिन्न राजनैतिक दलहरूले विभिन्न माग राख्दै योजना निर्माण गर्न मागपत्र बुझाएका छन् ।
सभापति देउवा बिहीबार अजयमेरु गाउँपालिका–१ पुइलेक र २ को चमडामा पुगेर कार्यकर्तासँग भेटघाट गरेका छन् ।
शुक्रबार सभापति देउवाको जन्मथलो गन्यापधुरा गाउँपालिका –१ रुवाखोलामा रहेको असियु देवताको पूजाआजा गर्ने कार्यक्रम रहेको छ ।
गृहजिल्ला डडेल्धुरामा सभापति देउवाले अन्य कार्यक्रममा अतिरिक्त कांग्रेस कार्यकर्तालाई भेटघाटलाई समेत निरन्तरता दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया