साहसिक खेलका माध्यमबाट खेल कूटनीतिको विकास गर्न सकिन्छ : परराष्ट्रमन्त्री डा.राणा
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले अहिले खेलकुदको आकर्षण र महत्व विश्वव्यापी रुपमा बढ्दै गएको बताएकी छिन् ।
बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आयोजित साहसिक खेलसम्बन्धी उच्चस्तरीय परामर्श बैठकमा डा.राणाले अन्य क्षेत्रहरूजस्तै खेलका माध्यमबाट पनि नेपालले आफ्ना कूटनीतिक प्रयास र पहलहरूलाई अगाडि बढाउन सक्ने बताइन् ।
उनले भनिन्, ‘नेपालका हिमाल, पहाड, नदी तथा खोलाहरू साहसिक पर्यटनका लागि संसारमै प्रख्यात छन् । हामीले विश्वका पर्यटकलाई यस क्षेत्रमा आकर्षित गरी साहसिक खेलका माध्यमबाट पनि खेल कूटनीतिको विकास र विस्तार गर्न सकिन्छ ।’
‘त्यसका लागि नेपालको पर्यटन तथा खेलकुद मन्त्रालयले समन्वयात्मक रुपमा काम गर्नुपर्दछ’, परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन् ।
उनले खेल कूटनीतिको विकास र विस्तारका लागि आवश्यक सहयोग पुर्याउन नेपाल सरकारका खेल एवं साहसिक खेल क्षेत्रसँग सम्बद्ध मन्त्रालय, विभाग एवं पदाधिकारीहरूलाई आग्रह गरेकी छिन् ।
मन्त्री डा.राणाले नेपालमा साहसिक खेलका माध्यमबाट पनि खेल कूटनीतिको विकास र विस्तारका प्रशस्त सम्भावना रहेको बताइन् । उनले त्यसतर्फ लाग्न सम्बद्ध पदाधिकारी एवं निकायहरूलाई आग्रह गरेकी छिन् ।
अक्टोबरमा कतारको दोहामा आयोजना भएको एसिडी (एसियन कोअपरेसन डायलग)को तेस्रो सम्मेलनमा खेल कूटनीतिलाई प्रमुख विषयका रुपमा राखिएको र नेपालले पनि खेल कूटनीतिको प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले बताइन् ।
परराष्ट्रमन्त्री डा.राणाले नेपालामा माउन्टनेयरिङ, ¥याफ्टिङ आदि क्षेत्रका साहसिक खेलमा विश्वकै पर्यटकको रुचि बढ्दो देखिएको र यी क्षेत्रमा तालिम एवं कोर्षको व्यवस्थासमेत रहेकाले यसका माध्यमबाट पर्यटक भित्र्याई आर्थिक कूटनीतिका क्षेत्रमा ठूलो योगदान पु¥याउन सकिने बताएकी छिन् ।
उनले खेलकुदलाई सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्ने माध्यमका रुपमा विकास गर्नुपर्ने बताइन् । नेपालको भौगोलिक अवस्थिति र प्राकृतिक सम्पदाका कारण साहसिक खेलको सम्भावनालाई विश्वमै उजागर गर्न आवश्यक रहेको डा.राणाले बताएकी छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया